सम्पूर्ण कारोबार कानुनी : डा. उपेन्द्र महतो «

सम्पूर्ण कारोबार कानुनी : डा. उपेन्द्र महतो

 खोज पत्रकारिता केन्द्रको अनुसन्धानको आधारमा भनेर सार्वजनिक भएका बिभिन्न सामग्रीमा गैरकानुनी काम गरेको ढंगले आफ्नोसमेत नाम आएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो सम्पूर्ण कारोबार कानुनी भएको बताएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू करिब चार दशकदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएकाले मूलतः व्यापार–व्यवसायमा संलग्न रहेको हुँदा नेपालबाहेक विभिन्न देशमा मेरा व्यावसायिक प्रतिष्ठानहरू र तदनुरूपका लगानी थिए र अझै पनि रहेको जनाएका छन् ।
विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र त्यसको समृद्धिमा आ–आफ्नो क्षमता अनुरूपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै आफूले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्य पनि पाएको भन्दै उनले त्यसबाहेक नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको जनाएका छन् ।
“मैले नेपालमा जे÷जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु,” प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन । मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट चाहिँ (न विदेशमा लगानी गर्नको लागि, न त रेमिट्यान्सका रूपमा) जम्मा गर्नका लागि एक डलर पनि लिएर गएको छैन ।”
आफू अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा रहेको तथा आफू व्यवसायमा भएको हुनाले आफ्नो परिवार खासगरेर भाई डा. वीरेन्द्रप्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम अनावश्यक रूपमा जोडिदिँदा आफूलाई दुःख लागेको उनले बताएका छन् । विगत धेरै वर्षदेखि अन्य विदेशी लगानीकर्ता साथीहरूलाई समेत आमन्त्रित गरेर मुलुकका विभिन्न स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको पनि उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्