सुक्खा बन्दरगाह कि आर्थिक केन्द्र ? «

सुक्खा बन्दरगाह कि आर्थिक केन्द्र ?

नेपालको बढ्दो आयातको आयतन र खुम्चिँदो निर्यात हेर्ने हो भने यी गौंडैंपिच्छेका सुक्खा बन्दरगाहहरूले के उपलब्धि दिने हुन् भन्ने सोच्नुपर्ने अवस्था छ ।

पछिल्लो दुई दशकभित्र नेपालको औद्योगिक–व्यावसायिक क्षेत्रमा धेरै चर्चामा आएका शब्दहरू हुन्– विशेष आर्थिक क्षेत्र (एसईजेड), औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह । लामो रस्साकस्सीपछि बल्लतल्ल भैरहवामा एउटा विशेष आर्थिक क्षेत्र त बन्यो, तर त्यहाँ विद्युत्लगायत अन्य पूर्वाधारका अभावका कारण त्यहाँ कहिले उद्योगहरू स्थापना हुने र तिनले कहिलेबाट निर्यातमूलक वस्तुहरू उत्पादन गरी विदेश निर्यात गर्ने कुनै निश्चित छैन । वीरगन्ज, पाँचखालसहित देशका अन्य १० स्थानमा यस्तै विशेष आर्थिक क्षेत्र वा निर्यात प्रवद्र्धन क्षेत्र खोल्ने कुरा विभिन्न आर्थिक वर्षका बजेट वक्तव्यहरूमै समावेश गरिएको भएपछि हालसालैका वर्षहरूमा यस्तो प्रसंग नै हराएको छ । यसैगरी सर्वाधिक चर्चा गरिएको अर्को विषय हो– सुक्खा बन्दरगाह । नेपालको प्रमुख आयात–निर्यात बिन्दु वीरगन्जमा बनाइएको सुक्खा बन्दरगाह पूर्ण सञ्चालनमा आइसकेको छ भने चीन सरकारको सहयोगमा तातोपानीमा निर्माणाधीन सुक्खा बन्दरगाह भूकम्पयता निर्माण तथा सञ्चालन प्रक्रिया नै अवरुद्ध भएको अवस्थामा छ । काठमाडौंको चोभारमा हिमाल सिमेन्ट कारखानाको जमिनमा सुक्खा बन्दरगाह बनाउने क्रम भर्खरैमात्र सुरु भएको छ भने झापाको काँकडभिट्टामा बनाइने भनिएको सुक्खा बन्दरगाहको जग्गा अधिग्रहण प्रक्रियामा नै अलमलिएको छ । यी दुवै विशेष महŒवका योजनाहरूबाहेक वर्तमान सरकारका उद्योग मन्त्रीले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेका छन् । अहिले देशभरि ११ वटा औद्योगिक क्षेत्र रहेकोमा १० वटामात्र सञ्चालनमा छन् भने कतिपय औद्योगिक क्षेत्रमा उद्योगका नाममा कुटानी पिसानीका मिलहरूमात्र रहेको देखिन्छ ।
सबै सुक्खा बन्दरगाहहरूको एकैमात्र उद्देश्य देखिन्छ, आयात–निर्यातलाई सहजीकरण गर्ने, व्यवस्थित गर्ने । नेपालको बढ्दो आयातको आयतन र खुम्चिँदो निर्यात हेर्ने हो भने यी गौंडैंपिच्छेका सुक्खा बन्दरगाहहरूले के उपलब्धि दिने हुन् भन्ने सोच्नुपर्ने अवस्था छ । विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस रिपोर्ट हेर्ने हो भने नेपालले छिमेकी मुलुक भारत तथा भारतीय मार्ग हुँदै अन्य मुलुकमा निर्यात गर्नका लागि चाहिने कागजी झन्झटको चक्र निकै ठूलो छ, त्यसमाथि गैरभन्सारजन्य अवरोध पनि नेपाली निर्यातका वस्तुहरूले खेप्नु परिरहेको तीतो यथार्थ छ । यसका तुलनामा आयातीत वस्तुहरू यहाँ भिœयाउन र कारोबार गर्न निकै सजिलो छ । विगतमा राजस्व चुहावट निकै बढेको भन्दै राजस्व अनुसन्धान विभागले यसरी नै गौंडा–गौंडामा चेकपोस्ट थाप्ने गरेको थियो, अर्थमन्त्रालयसँग सम्बन्धित तत्कालीन अधिकारीहरूको भनाइ मान्ने हो भने ती गौंडा चेकपोस्टहरू दस्तुरी असुलीको केन्द्र बनेका थिए ।
त्यसैले सरकारको मुख्य प्राथमिकता के हो भन्ने विषयमै अलमल देखिन्छ । यसअघि चोभारमा सुक्खा बन्दरगाह होइन, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी कक्ष बनाउने भन्ने कुरा थियो । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्ष निकै साँघुरो भएकाले अर्को वैकल्पिकमात्र नभई आधुनिक प्रर्दशनीकक्षको व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । वीरगन्जमा एउटा सुक्खा बन्दरगाह बनिसकेको अवस्थामा तातोपानीको सुक्खा बन्दरगाहलाई पनि सञ्चालनमा ल्याउने व्यवस्था गरिसकेपछि चोभारको सुक्खा बन्दरगाहमा के गर्ने भन्ने प्रश्न अझै उब्जन्छ । अझै समय घर्किइ सकेको छैन, चोभारमा हिमाल सिमेन्टका मूल भवन र क्वाटरहरू रहेका क्षेत्रमा बृहत् प्रदर्शनी कक्ष बनाइनु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्