जुम्लाका विद्यालयमा शिक्षक दरबन्दी न्यून «

जुम्लाका विद्यालयमा शिक्षक दरबन्दी न्यून

जुम्ला-जुम्लाका अधिकांश विद्यालय न्यून दरबन्दीमा सञ्चालन भइरहेका छन् । निजी स्रोतका शिक्षकको भरमा सञ्चालन भएका विद्यालयमा अहिले पठनपाठनमा समस्या देखिएको छ ।
गाउँमा आउने विभिन्न योजनाको बजेटको केही प्रतिशत विद्यालयमा दिएर निजी शिक्षकले पढाउने गरेका थिए । तर पछिल्लो सयम योजना बजेट विकास निमार्णमा अपुग हुन्छ । जसका कारण जनश्रमदान गर्नु पर्छ ।
विद्यार्थी संख्याअनुसार शिक्षक दबरन्दी नहुँदा जुम्लाको शैक्षिक क्षेत्रमा अपेक्षा अनुसारको उपलब्धि भएको छैन । ४० विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने नीति सरकारले ल्याए पनि कार्यान्वयन नहुँदा दुर्गमका विद्यालयमा शिक्षक दरबन्दी न्यून छ । स्थानीय सरकार आएपछि यहाँका विद्यालय शिक्षक पूर्तिका लागि माग गर्दा पनि समस्या समधान हुन नसकेको नाभीडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले बताए ।
भवानी आधारभूत, सेतिवाडा मावि नुवाकोट, भैरव मावि नराकोट, सुन्दरमणि डाँगीबाँडा लगायतका विद्यालयमा शिक्षक दरबन्दी एउटामात्रै छन् । विद्यार्थी संख्या भने प्र्रत्येक विद्यालयमा साढे २ सय बढी छ । शिक्षक कम हुँदा पढाइ व्यवस्थापनमा निकै सकस भएको विद्यालयहरुले बताएका छन् । तर, स्थानीय सरकार आएको डेढ वर्ष बढी भइसक्दा पनि शिक्षा क्षेत्रको सुधारका विषयमा गम्भीर देखिएका छैनन् ।

तिलामा ४५ शिक्षक नियुक्त
विद्यालयमा शिक्षक दरबन्दीको समस्या चुलिएका बेला जुम्लामै पहिलो पटक तिला गाउँपालिकाले ४५ जना शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाभरीका विद्यालयको समस्यालाई मध्यनजर गर्दै विभिन्न विषयमा ४५ शिक्षक नियुक्त गरिएकोे हो । सरकारले तोकेको पारिश्रमिक भन्दा केही कम भएपनि श्रम ऐनको मातहतमा रहेर मासिक पारिश्रमिक पाउने गरी शिक्षक पठाउने तयारी भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
उनले भने, “शिक्षा क्षेत्रको विकासबिना समृद्धि सम्भव छैन । गाउँपालिकाभरीका विद्यालय अनुगमन गर्दा ४५ जना शिक्षकको आवश्यक देखिएको छ । शिक्षक व्यवस्थापनको समस्यालाई मध्यनजर गर्दै दरखास्त खोलिएको हो ।” उनका अनुसार ईसिडीका लागि ७ जना, कक्षा १ देखि ५ सम्मका लागि ७ जना, कक्षा ६ देखि ८ सम्मका लागि १९ जना र ९ देखि १२ कक्षासम्मका लागि १३ जना शिक्षक स्थानीय तहले पठाउने भएको छ ।
शिक्षक दरबन्दी खोलेर उनीहरुलाई तालिम दिएर शिक्षणका लागि तयार बनाएर पठाइने तिला गाउँपालिकाको तयारी छ । स्थानीय तहबाट मासिक तलब खुवाउने गरी स्थानीय तहका विभिन्न विद्यालयमा शिक्षक पठाइने छ । यसअघि गरिएको अनुगमनबाट तिला गाउँपालिकामा ४५ शिक्षक नै आवश्यक देखिएपछि स्थानीय तहले शिक्षक पठाउने योजना बनाएको अध्यक्ष योगीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्