३३ केजी सुन तस्करी: छोरो पक्राउ, बाबु आमा फरार

सुन तस्करीको अभियोगमा काठमाडौंको विशालबजार स्थित शालीमार ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले विशालबजार स्थित शालीमार ज्वेलर्सका सञ्चालक भारतीय नागरिक राजस्थान गंगानगरका ३२ वर्षीय राहुल गोयललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
गतवर्ष पुस २१ गते दुवईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन तिलगंगाबाट बरामद भएको थियो । उक्त सुन तस्करी अभियोगमा संलग्न २० जना अझै फरार रहेको व्यूरो प्रमुख डीआइजी पुस्कर कार्कीले जानकारी दिए ।
उक्त सुन तस्करी अभियोगमा नै गोयल पक्राउ परेका हुन् । भरिया सहित सुन बरामद भएपछि गोयल सहितका अन्य तस्कर फरार थिए । भरिया पक्राउपछि शालीमारकै सञ्चालक समेत रहेका गोयलका बाबु रामकृष्ण गोयल र कुसुम गोयल फरार छन् ।
बरामद सुनको अनुसन्धानपछि व्यूरोले संगठीत अपराध अन्तर्गत गतवर्ष फागुन २२ गते ३३ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो । मुद्दा दर्ता हुँदा १२ जना अभियुक्त मात्रै पक्राउ परेकोमा मंगलबर गोयल काठमाडौंबाट समातिएका हुन् । उक्त सुन तस्करीमा संलग्न २० जना अझै फरार रहेको व्यूरोले जनाएको छ ।