सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था गर्न माग «

सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था गर्न माग


विभिन्न जिल्लाका राजनीतिक दलका नेतहरुले सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले पार्टीका जिल्ला सभापतिहरूसँग ‘गरिखाने अभियान’का सम्बन्धमा गरेको अन्तक्र्रियामा विभिन्न जिल्लाका प्रतिनिधिले स–सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा लगानी पूर्वाधार र रोजगार समितिका सभापति विनोद चौधरीले युवाहरूलाई उद्यमशील बनाएरमात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । “प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अङ्गीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ” उनले भने, “राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।”


चौधरीले हरेक वर्ष चार लाख युवा श्रम बजारमा आउने भएपनि देशभित्र मुस्किलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको दयनीय स्थितितर्फ चित्रित गर्दै आकांक्षी तथा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन मुलुकभित्र उद्यमशीलता विकासका अवरोध हटाउँदै नयाँ माहौल सिर्जना गर्न गरिखाने अभियान सञ्चालन गरेको उल्लेख गरे ।


समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैं अगुवा र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताए । समितिका सहसंयोजक इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको बताए ।


नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवले आफूले राजनीतिसँग जीवन निर्वाहका लागि व्यवसाय शुरु गर्दा पार्टीभित्रैबाट ‘व्यवसायमा लागेको व्यक्तिले के राजनीति गर्छ र !’ भनेर निरुत्साहीत गर्ने काम भएको स्मरण गर्दै अहिले हरेक राजनीतिक दलमा यो विचार क्रमशः परिवर्तन हुँदै गएको बताए । “पूर्णकालीन राजनीतिमा लाग्नेले जीवन निर्वाहका लागि पेशा–व्यवसाय नै गर्न हुँदैन भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘राजनीति पेशा हुन सक्दैन, यो सेवा हो । राजनीति गर्नेले आयआर्जनका लागि सँगसँगै आफ्नो पेशा र व्यवसाय पनि गर्नुपर्छ । यसले राजनीतिलाई अझै सङ्लो बनाउँछ ।”


राज्यको नीति नियमभित्र रहेर व्यवसाय गर्ने व्यक्तिलाई समाजिक प्रतिष्ठाको सट्टा दलाली चरित्र उनीहरूको मानमर्दन गर्ने, निरुत्साहीत गर्नेमा क्रियाशील रहेकोमा क्रमशः समाजमा यसबारे जागरण र चेतना फैलाउँदै लैजानुपर्ने र ‘गरिखाने अभियान’मार्फत् अघि सारिएको उद्यमशीलता विकासका लागि राजनीतिक परिचालनको अभियानलाई अघि बढाउनुपर्ने पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जीपछिरिङ लामाको भनाइ थियो ।


कैलाली कांग्रेसका सभापति नरनारायण शाहले व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिमा पछि पु¥याउन तिकडम गर्ने, मानमर्दन गर्ने, दुःख दिने काम हुँदै आएको परिप्रेक्ष्यमा राजनीति गर्नेले त्यसलाई नै पेशा बनाउँदा दोहन, भ्रष्टाचारका समस्या आएको र कतिपय पूर्णकालीन राजनीति गर्नेले पुख्र्यौली सम्पत्ति समेत सकाएर रित्तो अवस्थामा पुगेको भन्दै व्यवसाय गर्नुलाई समस्या नभइ इज्जतका रूपमा लिनुपर्ने बताए ।
जिल्ला सभापतिहरूले उद्यमशीलता विकासका लागि गरिखाने अभियानलाई आफ्नो जिल्लामा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय सम्भाव्यताका आधारमा सम्भाव्य परियोजना विकास गरी उद्यमशील बन्न युवाहरूलाई प्रोत्साहीत गर्नुपर्ने उनीहरुको भनाइ थियो ।


गरिखाने अभियान राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने अभियान हो । त्यस अभियानमा जोडिएर उद्यमशील बन्न चाहनेहरूलाई परियोजनासम्बन्धी सोच÷सम्भाव्यता, सीप, पुँजी तथा प्रविधि, बजार पहुँच विस्तार तथा भइरहेका उद्यमलाई स्केल–अप (स्तरोन्नति)का लागि व्यवसायिक रूपमा उद्यमशीलता विकासमा काम गरिरहेका संस्थाहरूसँग सम्पर्क स्थापित गराई उक्त उद्यमशील सोचलाई व्यवहारमा रूपान्तरण गराउने काम हुँदै आएको छ ।


अन्तक्र्रियाका क्रममा चालु आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने अपेक्षा गर्दै समितिका संयोजक चौधरीले लघु–घरेलु तथा सना उद्यमको विकासले समावेशी र स्थायित्व सहितको आर्थिक विकासको जग निर्माण गर्नेहुँदा उद्यमशीलता विकासलाई महत्वका साथ अघि बढाउने सभापतिहरूको प्रतिवद्धताको प्रशंशा गर्दै गरिखाने अभियानमा हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्