व्यवस्थापनविरुद्ध आन्दोलन गर्ने टेलिकम कर्मचारीको चेतावनी «

व्यवस्थापनविरुद्ध आन्दोलन गर्ने टेलिकम कर्मचारीको चेतावनी

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफ्ना माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


आफूहरुको सबै सेवा, सुविधा कटौती हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले बताए ।


कम्पनी सञ्चालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढी कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा कर्मचारीले धर्ना दिँदै आएका छन् । पनेरुले आफूहरुका माग सम्बोधन नभए नेपाली टेलिकमको सञ्चालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।


टेलिकम सञ्चालक समितिले आफूहरुको अधिकार कटौती गरी जारी गरेको सो विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीहरुले गत साउन ५ गतेदेखि धर्नासहितका विरोध कार्यक्रम गर्दै आएका छन् । २८ दिन बित्दासमेत माग सुनुवाई नभएको भन्दै उनीहरु सञ्चालक समिति र व्यवस्थापनविरुद्ध आक्रोशित भएका छन् ।

उनीहरुले टेलिकमको सेवामा गुणस्तर वृद्धि, सुशासन र लगानी अनुसारको प्रतिफल निकाल्न पनि व्यवस्थापनलाई जिम्मेवार बन्न दवाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्