एउटै गाउँपालिकामा १२ हजार निरक्षर «

एउटै गाउँपालिकामा १२ हजार निरक्षर

नेपालगन्ज-बाँके जिल्लाको कर्णालीको रुपमा परिचित बघौडा क्षेत्रको एउटा गाउँपालिकामा मात्र अझै पनि १२ हजार नागरिक निरक्षर रहेको पाइएको छ । यातायात र अन्य विकासको अभावले शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा अत्यधिक पिछिडिएको सो क्षेत्रमा निरक्षरको संख्या अत्यधिक पाइएको हो ।
जिल्लाका धेरै गाउँपालिका पूर्ण साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको बेला राप्तीपारीको बघौडा क्षेत्रको नरैनापुर गाउँपालिकामा अझै १२ हजार भन्दा बढी नागरिक निरक्षर रहेको सो गाउँपालिकाले जनाएको छ । शिक्षा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार रहेकोले सोही कुराको प्रत्याभूति दिँदै नरैनापुर गाउँपालिकाले गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउनको लागि साक्षरता अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष शाहले शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको गाउँपालिकाको रुपमा रहेको नरैनापुरमा करिब १२ हजार नागरिक अझै निरक्षर रहेकोले गाउपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउन अभियान नै सञ्चालन गर्नुपरेको जनाए ।
उनले भने, “गाउँपालिकामा अझै पनि १२ हजार बढी निरक्षर छन् । उनीहरूलाई साक्षर बनाउनको लागि अहिले साक्षरता अभियान सञ्चालन गरेका छौं । सामाजिक सुरक्षा भत्तादेखि सबै कुरा अनलाइनमार्फत् गर्नुपर्ने हुँदा निरक्षर र ल्याप्चेका कारण समस्या आएपछि साक्षरता अभियान सञ्चालन गरेका हौं ।”
उनले साक्षरता अभियानको पहिलो चरणमा ३ हजारलाई साक्षर बनाउने र उनीहरूमार्फत् बाँकी ९ हजारलाई साक्षर बनाउन उनीहरूलाई नै परिचालन गर्ने गरी अभियान सञ्चालन गरेको जानकारी दिए । पहिलो चरणको अभियानमा ३ हजारलाई साक्षर बनाउन सय जना सहजकर्तालाई कार्यक्षेत्रमा खटाइएको छ ।
उनले भने, “म आफैं बैंकमा बसेर सामाजिक सुरक्षा भत्ता वितरणको बेलामा हस्ताक्षर गर्न सिकाउन पर्ने अवस्था आएपछि साक्षरता अभियान सञ्चालन गरी सबैलाई साक्षर बनाउन थालिएको हो ।” उनले पहिलो चरणको साक्षरता अभियान ३ महिनाको हुने र त्यसको लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्ताहरूलाई हस्तान्तरण गरिएको बताए ।
“आगामी चैत महिनाभित्र ३ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय जना सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ,” उनले भने, “सहजकर्ता र कक्षा लिनेहरूलाई आवश्यक पर्ने किताब, कापी, कलम, बोर्ड, मार्कर लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।”
अध्यक्ष शाहले अशिक्षाका कारण गाउँपालिका विकासमा पछि परेको बताउँदै विकासको बाधकको रुपमा रहेको अशिक्षालाई मुक्त बनाउन साक्षरता अभियान थालेकोले सबै गाउँपालिकाबासीलाई उत्साहका साथ कक्षामा सहभागी हुन आग्रह पनि गरेका छन् । उनले गाउँपालिकाको हरेक वडामा सञ्चालन हुने प्रत्येक साक्षरता कक्षाकोे अनुगमन गर्दा परिणाम देखिने गरी काम गर्न सहजकर्ताहरूलाई निर्देशन दिएको बताएका छन् ।
नरैनापुर गाउँपालिकाका करिब १२ हजार निरक्षर नागरिकलाई साक्षर बनाउने अभियानमा सहयोग गरि रहेको संस्था ग्रामीण समाज उत्थान मञ्चका अध्यक्ष मुस्ताक अलि राईले प्रत्यक वडाका टोल–टोलमा खटिने सहजकर्तालाई नतिजा सकारात्मक आउने गरी काम गर्न लगाइएको जनाए ।
यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले बाँकेका आठवटै स्थानीय तहमा पूर्व साक्षरताका लागि पटक–पटक कक्षाहरू सञ्चालन गरिए पनि कुनै पनि स्थानीय तह पूर्ण साक्षर पालिका घोषणा हुन नसकेको जानकारी दिएका छन् । उनले भने, “साक्षरताको लागि धेरै कक्षा सञ्चालन भए पनि अझै पनि ठाउँ–ठाउँमा निरक्षर रहेको जानकारी आएको छ र केही स्थानीय तहले आफ््नै तवरले साक्षरता अभियान सञ्चालन गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्