कक्षा वृद्धिका लागि स्थानीयको साढे ४ लाख सहयोग «

कक्षा वृद्धिका लागि स्थानीयको साढे ४ लाख सहयोग

अछाम –कक्षा १० सम्म अध्ययन भइरहेको अछामको बान्नीगढी जयगढ–६ दर्नास्थित ऐश्वर्य माविलाई कक्षा १२ सम्म सञ्चालन गरिने भएको छ । माथिल्लो कक्षा सञ्चालनका लागि विद्यालयले आर्थिक संकलन अभियान समेत सञ्चालन गरेको छ ।
कक्षा १२ सम्म गाउँमा पढाइ नहुने भएकाले विद्यार्थीहरुले टाढाका विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता छ । विद्यार्थीको समस्या र स्थानीय जनताको चाहनालाई मध्यनजर गर्दै विद्यालयले अभियान सञ्चालन गरेको प्रधानाध्यापक कटकबहादुर शाहले बताए । विद्यालयले सेवा क्षेत्रका सरोकारवालाहरुलाई स्वेच्छिक सहयोगका लागि आह्वान गरेसँगै हालसम्म झण्डै ४ लाख ५२ हजार रुपैयाँ संकलन भइसकेको विद्यालयले जनाएको छ । स्थानीयले विद्यालयलाई कक्षा १२ सम्म सञ्चालनका लागि चन्दा संकलन अभियान चलाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कृष्णबहादुर कडायतले बताए ।
उनले भने, “विद्यार्थीहरुको सजिलोका लागि र अन्यत्रको विद्यालयमा जानुपर्ने बाध्यता हटाउनका लागि सबै वडावासी कक्षा बढाउने अभियानमा सक्रिय भएका छन् ।” सम्बन्धित निकायबाट कक्षा वृद्धिको सम्बन्धन लिनकै लागिमात्र ८ लाख लाग्ने भएकाले विद्यालयसँग त्यो स्रोत नहुँदा आर्थिक संकलन अभियान चलाउनुपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्