सर्वोच्च अदालतको फैसला नेपालको संविधानविपरीतः सांसदहरू «

सर्वोच्च अदालतको फैसला नेपालको संविधानविपरीतः सांसदहरू

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद विमला नेपालीले सर्वोच्च अदालतले वर्गको आधारमा सार्वजनिक सेवामा आरक्षण दिनुपर्छ भन्ने सन्दर्भमा फैसला गरेको भन्दै उक्त फैसला नेपालको संविधान विपरित भएको बताए । अदालतले दलित, मधेसी, महिला, मुस्लिम, अपांग र पिछडिएको क्षेत्रको अपमान गरेको उहाँको भनाइ थियो । सांसद नेपालीले भने, ‘उक्त फैैसला वर्तमान नेपालको संविधान र प्रचलित कानुनसँग बाझिएको हकमा के हुने भन्ने वैधानिक प्रश्न खडा गरेको छ । सम्मानित सर्वोच्च अदालतबाट दलित, मधेशी, महिला, मुस्लिम, अपांगलगायत पिछडिएको क्षेत्रको अपमान गरिएको छ ।’
सांसद विमला बिकले दार्चुलाका युवा जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले अपराध भन्न नसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्न नसकेको पनि उनले उल्लेख गरे । उनले भने, ‘संसारले देख्नेगरी भएको यो जघन्य अपराध, अपराध हो भनेर चर्को स्वरमा मेरो सरकार किन भन्न सक्दैन ? मेरो देशका प्रधानमन्त्री भारतका प्रधानमन्त्रीलाई आँखामा आँखा जुधाएर अपराधमा कारबाही गर भनेर कहिले भन्नसक्नुहुन्छ ? यस्तै बेला केपी ओलीको याद आउँछ । आज सबैले भनिरहेका छन्, वि मिस यू केपी ओली भनेर ।’
सांसद भरतकुमार शाहले रसायनिक मलको अभाव भएको भन्दै मलको व्यवस्था गर्न सरकारसँग माग गरे । तराईमा गाई गोरु तस्करी भइरहेकाले त्यसलाई रोक्न पनि उनले सरकारसँग माग गरे । सांसद भिमसेनदास प्रधानले काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूमा प्लटिङ गर्ने काम हुनाले पर्यावरणमा समेत असर परेको भन्दै यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद मनकुमारी जिसीले सरकारले अपगानिस्तानबाट नेपाली नागरिकलाई नेपाल फर्काउनुपर्नेमा चुप बसेको बताए ।
सांसद मीना सुब्बाले बेलायतमा पूर्व गोरखा सैनिकहरू अनशन बसिरहेको सम्बन्धमा नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरे ।
सांसद यज्ञराज सुनुवारले अफगानिस्तान घटनाबाट पाठ सिकेर अघि बढ्न सरकारलाई सचेत गराए । उनले भने, ‘जुन देशका नागरिकले त्यो देशको सरकारलाई सहयोग गर्दैनन्, केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेनछ भन्ने कुरा अफगानी राष्ट्रपति र त्यहाँका शासकहरूले देश छोड्नु परेको घट्नाले हामीलाई झस्काइरहेको छ । यतिबेला हामीपनि अमेरिकी सहयोग एमसिसी, एमसिसी भनेर बुरुक बुरुक नउफ्रिऔँ । यसतर्फ ध्यान दिऔँ ।’
सांसद रंगमती शाहीले ओली नेतृत्वको अघिल्लो सरकारलाई कलियुगको धन्धुकारी सरकार भएको टिप्पणी गर्दै अहिलेको देउवा नेतृत्वको सरकार गोकर्णको रुपमा आएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो भाषामा भन्दाखेरी दुईतिहाइ पाएका पूर्वप्रधानमन्त्री कलियुगका धन्धुकारी नै हुनुभयो । जसले आफ्नो पार्टी र संसद दुवैतिर आफ्नो धन्धुकारीको भुमिका निर्वाह गर्नुभयो । अब गोकर्णको रुपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीको अवतरण भएको छ । यसमा सबैको कल्याण हुन्छ ढुक्क हुनुस् । यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन । बालुवाटारबाट शासन गर्दैन । ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबढीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिदैनँ । ढुक्क हुनुस् आफुलाई निद्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जागराम राख्दैन । सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन । सांसद अपहरण पनि गर्दैैन । सकेसम्म आफ्नो नीजि सम्पति सरकारलाई दिने घोषणा गर्छ ।’
सांसद राजबहादुर बुढा क्षेत्रीले कोरोनाका कारण शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको भन्दै खोप दिएर पठन–पाठन र परीक्षा सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्