तरकारी बेचेरै छोरीलाई उच्चशिक्षा «

तरकारी बेचेरै छोरीलाई उच्चशिक्षा

जुम्ला-कृषि कर्मले भाग्य बदल्छ, दैनिकी बदल्छ अनि समग्र देशको अर्थतन्त्रलाई धान्छ भन्ने मात्र सुनेका मात्र थिए– तिला गाउँपालिका–३ का नरबहादुर रावतले । तर उनी आफूले कहिलै यस्तो भोगेका भने थिएनन । कृषिले पनि दुःखका दिन फेरिन्छन् भन्नेसमेत उनले कुनै महसुस गरेका थिएनन् । उनमा पाँच वर्षअघिसम्म पनि कृषि कर्मबाटै छोराछोरीलाई पढाउँला भन्ने कुनै विश्वास नै थिएन । तर गरे के सम्भव हुँदैन भन्ने विश्वास र आँट अहिले पलाएको छ– नरबहादुरको जीवनमा ।
संकटकालको अवस्था, ठूलो परिवार, जग्गाजमिन केही नहुँदा उनलाई बिहान–बेलुका के खाने भन्ने समस्या परेको थियो । २०५० सालदेखि २०६८ सम्म सधैं कालापहाडको कमाइको भरमा घर चलाउनुपर्ने कठिन बाध्यता थियो नरबहादुरको । १० जनाको परिवार खर्च चलाउनै धौ–धौ पर्ने उनलाई छोरा–छोरी पढाउने त सपना मात्र थियो ।
२०६९ सालमा भारतबाट आएपछि उनले विकास परियोजनाले कृषिका लागि आवश्यक सहयोग गर्ने थाहा पाए । आफ्नो जग्गा हुनुपर्ने, आवश्यक सबै सामग्री तथा ज्ञान परियोजना दिने त थाहा पाए । तर उनीसँग तरकारी तथा नर्सरी गर्ने खेत नै थिएन । निकै संकटमा परेका बेला भाडामै भए पनि जग्गा लिएर ४ रोपनीमा उनले नर्सरी तथा तरकारी खेती सुरु गरे । सात वर्षको अवधिमै उनले आफू मालामाल भए ।
“जीवनको सबैभन्दा ठूलो प्रगति जेठी छोरीलाई काठमाडौंमा राखेर स्नातकोत्तर पास गराएकोमा भएको छ,” उनले भने, “कृषि कर्मबाटै म जस्तो घर खर्च चलाउनै धौ–धौ हुने मान्छेले गरेको प्रगतिबाट आफैं अचम्मित भएको छु ।” तरकारी बेचेरै काठमाडौंमा छोरीलाई डिग्री पढाउँला, घरखर्च चलाउँला भन्ने त कल्पना पनि नगरेको बताए । तर, विकास परियोजना सञ्चालन भएपछि आफ्नो जीवनले कोल्टे फेरेको उनले बताए ।
“छोरीको पढाइका लागि झन्डै २५ लाख रूपैयाँ खर्च भएको छ,” उनले भने, “सबै खर्च तरकारी बेचेरे गरेको हुँ ।” सामान्य मान्छेले कल्पनै नगरेको काम गर्न विकास परियोजनाले क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको उनले बताए । उनी अहिले वार्षिक १० लाख रूपैयाँ बराबरको कारोबार गर्छन् । अहिले एक छोरालाई आफूसँगै तरकारी व्यवसायमा लगाएका छन् । ४ छोरा र २ छोरीको पढाइ खर्च त्यसबाटै चलेको उनले बताए ।
विकास परियोजनाकै लगानीबाट आफ्नो जीवनमा सफलता पाएको भन्दै कालिकोटका मनोजकुमार शाही र रेशमाकुमारी शाही पनि निकै खुसी छन् । घरमा के लाऊँ के खाउँ भन्न अबस्थाबाट परियोजनाले सिकाएको उद्यमशलीताबाट आज सफल भएको उनीहरूले सुनाए । मनोजकुमार शाही एग्रोभेट सञ्चालक तथा कृषक हुन् भने, रेश्मा शाही उद्यमी हुन् । उनी कालिकोट तिला गुफा नगरपालिका–३ का बरिष्ठ उद्यमी हुन् ।

तीन वर्षे परियोजना सम्पन्न
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित विकास परियोजनाले जुम्लाको कृषि, वन पैदावार, नागरिक समाज तथा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै समापन भएको छ । तीन वर्षको अवधिमा स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय गरी यहाँका स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सफल भएको छ ।
कालिकोट, जुम्ला र मुगुमा सञ्चालित परियोजनाले देखिने गरी लाखौंको लिफ्ट सिँचाइ तथा रेपवे निर्माण तथा कृषिमा किसानको आर्कषण बढाएको छ । विकास परियोजनाका संयोजक दशरथ उपाध्यायले तीन वर्षको अवधिमा १ करोड रूपैयाँ कालिकोट र जुम्लामा खर्च भएको बताए । जसमा उत्थानशील, पूर्वाधार निर्माण, ग्रामीण कृषि, गरिबमुखी बजारीकरणको सबलीकरण गर्ने, उद्यमशीलताको क्षमता अभिवृद्धि, सुशासनमा वृद्धि भएको जुम्लाका सरोकारवालाले बताएका छन् ।
सामान्य मानिसलाई लखपती बनाउने तथा बन्ने जागर दिएको भन्दै किसानहरू पनि खुुसी छन् । तीन वर्षमा परियोजनाबाट कालिकोट र जुम्लाबाट ७ हजार घरधुरी लाभान्वित भएका छन् । सबै कृषिमा आत्मनिर्भरसमेत भएका छन् । परियोजनाले जुम्ला र कालिकोटमा सिँचाइ सुविधामा पहुँच, बजार सेवामा पहुँच, प्रसोधन तथा भण्डारणका पूर्वाधार प्रवद्र्धन, व्यवसायी कृषकको संख्यामा वृद्धि, आर्थिक पूर्वाधारबाट कामको बोझमा कमी, उत्पादन तथा बजारीकरण वृद्धि, बाली र पशुबिमाको पहुँचमा वृद्धि गराएको छ । पशु बिमा र बाली बिमाका क्षेत्रमा समेत उल्लेनीखय काम गरेको उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्