Logo

संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई हेप्ने काम नगर्न चेतावनी

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिए ।
सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराउनु भएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दाबी गरे । उनले भने, ‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अव यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन्, आगामी निर्वाचनपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दावा हो ।’
सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दाबीसमेत गरे । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्धार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले भनेर होइन् तत्काल उद्दार गरेर अफगानिस्तानमा रहेका नेपालीहरुको जीवन सुरक्षा गर्नुपर्ने सांसद यादवको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्