Logo

चिकित्सा शिक्षाको पाठ्यक्रम बनाउँदै कर्णाली प्रतिष्ठान


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षाअन्तर्गतका विभिन्न तहका पाठ्यक्रम निर्माण गर्दै आएको छ । कर्णाली प्रतिष्ठानले पश्चिम नेपालमै पहिलो चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको हो । स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्रध्यापक, सहप्रध्यापक र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुखसहितका विज्ञहरू जुटेका छन् ।


प्रतिष्ठानले स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणको काम टुंग्याएर अन्तिम चरणमा पु¥याएको छ । जुम्लामै नर्सिङ तहको उच्चस्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम फिजाउन जुम्लाका समस्या सामाजिक विषयवस्तु केन्द्रित चिकित्सा शिक्षाको पाठ्यक्रम बनाउन सुरु गरेको छ । जुम्लामा सोमबार एक औपचारिक कार्यक्रममार्फत प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्यक्रम निर्माणको अन्तिम तयारी भएको जनाकारी दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले यस पटक स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन सुरु गरिएको बताए ।


उनका अनुसार प्रतिष्ठानले आफै एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच, एमडीएमस, एमएससी ईपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसनसहितका विभिन्न पाठ्यक्रम यसअघि बनाइसकिएको छ । भर्खरै सुरु हुन थालेको मास्टर्स अफ नर्सिङ तहको पाठ्यक्रम निर्माण गरी अन्तिम चरणमा पुगेको शिक्षा अध्यक्ष थापाले जानकारी दिए ।


जुम्लामै निर्माण भएको पाठ्यक्रमले पश्चिम नेपालको आर्थिक, सामाजिक समस्या, चुनौती अवसर तथा समग्र स्वास्थ्य क्षेत्रका समस्याका बारेमा बोल्ने बताए । पश्चिम नेपालमै स्तरीयखालको पाठ्यक्रम बन्नेसमेत थापाको दाबी छ ।


प्रतिष्ठानले जुम्लामा गत वर्ष बीएनएस तहको पाठ्यक्रमसमेत बनाइसकेको छ भने यस वर्ष दर्जनौं प्रध्यापकको सहभागितामा प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ पाठ्यक्रम निर्माण गरेको नर्सिङ डीन सहायक प्रध्यापक डाक्टर सरस्वती गौतमले बताइन् । उनले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाएर कर्णालीकै भूगोल केन्द्रित पाठ्यक्रम पढाउने अवसर पाउदा खुसी व्यक्त गरिन् ।

जुम्लामा सुरु भएको दुईदिने पाठ्यक्रम विकास कार्यशालमा नर्सिङ डीन गौतमले केही दिनमै नर्सिङ उच्च तहको पाठ्यक्रम अन्तिम रुप दिने चाँडै कार्यान्वयनमा आउने उल्लेख गरिन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनै बेला डाक्टर नपाउने जुम्लाले अहिले डाक्टरहरूकै भेलाले जुम्लामै पाठ्यक्रम तयार हुनु गौरुवको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्