हेटौंडा इजलाशमा छैन दुई वर्ष नाघेका मुद्दा
हेटौंडा -चितवन र मकवानपुरको पुनरावेदकीय इजलाशका रूपमा रहेको उच्च अदालत पाटन हेटौंडा इजलाशमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नुका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालत पाटन हेटौंडा इजलाशले जनाएको छ ।
सोमबार हेटौंडामा पत्रकारहरुसँगको अन्तरक्रिया तथा वार्षिक प्रगति सार्वजनिक गर्दै उच्च अदालत पाटन, हेटौंडा इजलाशले १८ वमहिनादेखि २ वर्ष अवधिका २६ थान मुद्दा टुङ्ग्याउन बाँकी रहेको भन्दै दसैंअघिसम्म उक्त मुद्दाको पनि टुङ्गो लाग्ने जनाएको छ । इजलाशले गत आर्थिक वर्ष २०७७-०७८ मा ८ सय २६ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार केशव कौशिककाअनुसार बितेको आर्थिक वर्षमा अदालतमा एक हजार ३७ वटा नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ४ सय ८ वटा मुद्दासहित एक हजार ४ सय ४५ वटा मुद्दामध्ये ६ सय १९ वटा मुद्दा टुङ्ग्याउन बाँकी रहेको छ ।
अदालतले लक्ष्यको ८७ दशमलव ९६ प्रतिशत र लगतमा ५७ दशमलव १६ प्रतिशत मुद्दा फछ्यौट गर्न सफल भएको श्रेस्तेदार कौशिकले बताए । चालू आर्थिक वर्षमा उच्च अदालत पाटन, हेटौंडा इजलाशले १ हजार १ सय ९४ वटा मुद्दाको फछ्र्यौट गर्ने लक्ष्य लिएको छ । चालू आवमा जम्मा वार्षिक लगत १ हजार ७ सय ६८ वटा हुने अनुमान गरिएको छ ।
हेटौंडा इजलाशले चितवन र मकवानपुर जिल्ला अदालतबाट फैसला भई पुनरावेदनमा दर्ता हुने मुद्दाका साथमा राजस्वसम्बन्धी मुद्दा, अदालतको अवहेलानाको मुद्दा, बैंकिङ मुद्दा र साधक जाहेरी सोझै लिने गर्छ ।
अन्तरक्रियामा बोल्दै उच्च अदालत पाटन, हेटौंडा इजलाशका मुख्य न्यायाधीश मुहम्मत साविक हुसेनले अदालतप्रतिको जनआस्था वृद्धिका लागि सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए । अदालती समाचार सम्प्रेषण अत्यन्त संवेदनशील हुने भन्दै स्वच्छ र शुद्ध रूपमा जनतामाझ सूचना पु-याउन भूमिका खेल्न उनले पत्रकारहरुलाई आग्रह गरे ।