नेप्सेका सीईओद्वारा गल्ती स्वीकार «

नेप्सेका सीईओद्वारा गल्ती स्वीकार


सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् ।
संघीय संसद्को अर्थ समितिको सोमबार बसेको बैठकमा उनले ऐन नियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाजमा आलोचित भएको भन्दै आगामी दिनमा यसलाई ख्याल गर्ने बताए । “मैले नेप्सेको सीईओको हकमा लागू हुने ऐन नियम र आचारसंहिता समेत हरेर सेयर किनेको हो,” उनले भने, “त्यसले मात्र नपुग्ने रहेछ । हाम्रो पछाडि समाज पनि छ । आगामी दिनमा यस्तो प्रश्न उठ्ने ठाउँबाट एक कोस टाढै रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
साउदले इन्साइड ट्रेडिङमार्फत कारोबार भएको भन्दै अनावश्यक हल्ला फैलाएको प्रतिवाद गरे । “नेप्से शुद्ध रूपमा सेयर उपलब्ध गराउने निकाय भएको हुनाले हाम्रो सञ्चालक समितिको आचारसंहिताले रेगुलेटेड सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थापक सेयर किन्न कुनै बाधा पर्ने छैन भनेर लेखिएको छ,” उनले भने, “त्यहीअन्तर्गत त्यो सेयरको कारोबार भएको हो । त्यो कुनै नियम मिचेर होइन । नैतिकताको प्रश्नमात्र हो ।” उनले आफू देशको नागरिक भएकाले कानुनअनुसार लगानी गर्न पाउनुपर्ने जिकिर गरे ।
बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टमा सीईओ साउदकी श्रीमतिको नाममा साथै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीका नाममा संस्थापक सेयर किनेका थिए । यस विषयमा अर्थ समितिले आइतबार ढुंगानालाई पनि बोलाएर छलफल गरेको थियो । ढुंगानाले भने बिहे गरेको छोरीले उक्त सेयर खरिद गरेको त्यसलाई कानुनले बन्देज नलगाएको दाबी गरेका थिए ।
नियामक निकायको जिम्मेवारीमा बसेर कानुनका छिद्र खोजेर ‘गोल्डेन सेयर‘ हात पारेको समाचार बाहिरीए पछि दुबैलाई नैतिकताको संकट परेको छ ।
बैठकमा सांसदहरूले भने नियामक निकायमा बसेर सेयर कारोबार गर्न नमिल्ने दाबी गरे । सांसद रामकुमारी झाँक्रीले सेयर कारोबार गर्ने भए नियामक निकाय छोडेर कम्पनी खोल्नसमेत सुझाव दिइन् ।
गोल्डेन सेयर खरिद विवादमा यसअघि नै अर्थ मन्त्रालयले ढुंगाना र साउदलाई स्पष्टीकरण सोधे पनि कुनै कारबाही गरेको छैन ।

नेप्सेमा सामान्य सुधार
यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सामान्य सुधार देखिएको छ । सोमबार नेप्से ५.७२ अंकले बढेर ३१६०.०५ अंकमा पुगेको छ । नेप्से बढे पनि सोमबार कारोबार रकम आइतबारको तुलनामा घटेको छ । आइतबार सर्वाधिक साढे २१ अर्बको कारोबार भएकोमा सोमबार भने १५ अर्ब ९३ करोडमा सीमित भएको छ ।
सोमबार नेप्से बढे पनि बैंकिङ, होटल तथा टुरिजम, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा र म्युचुअल फण्डलगायतका समूहगत परिसूचक घटेका छन् । यसैगरी व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त लगायतका समूह भने वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्