ट्युनिसियामा सामाजिक पुनर्संरचनाको घोषणा

ट्युनिसियाको सरकारले एक हप्ता लामो आन्दोलनपछि सामाजिक पुनर्संरचनाको घोषणा गरेको छ । स्वास्थ्य सेवासम्बन्धी बजेट बढाउने र सरकारका अरू पनि विभिन्न सेवामा सुधार गरी सामाजिक पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको हो ।
सामाजिक मामिलामन्त्री मोहम्म ट्रबेल्सीले स्वास्थ्य सेवा तथा सामाजिक पुनर्संरचनाका कार्यक्रमहरू तयारी अवस्थामा रहेको जानकारी गराएका छन् ।
केही महिनामै स्वास्थ्य सुधार कार्यक्रम कार्यान्वयन भइसक्ने सुनिश्चित गरिएको पनि उनले बताए ।
राष्ट्रपति बेजी कैड इस्सेब्सीले राजनीतिक दल, विभिन्न संघ संगठन र रोजगारदाताहरूसँगको परामर्शपछि सरकारले सामाजिक पुनर्संरचना घोषणा गरेको हो ।
उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रतिदिन बढ्दो मात्रामा रहेको भनिएको गरिबी र बेरोजगारीका विरुद्ध गत केही दिनदेखि आन्दोलन भइरहेको थियो । आन्दोलनका क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए ।
“यो निकै ठूलो कानुनी परियोजना हो, पछि संसद्मा पेस हुनेछ र अर्को हप्ता छलफल हुनेछ,” नाम नबताउने सर्तमा एक जना सरकारी अधिकारीले भने ।
अघिल्ला दिनहरूको तुलनामा हाल आन्दोलन थप आक्रामक र हिंसात्मक हँुदै गएपछि सरकारले सामाजिक सुधारको योजना भन्दै यी कार्यक्रम घोषणा गरेको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक–पटक भएका झडपपछि सयौं आन्दोलनकारीलाई गिरफ्तार पनि गरिएको समाचारमा जनाइएको छ ।
उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको थियो । तर, प्रदर्शनकारीहरूले भने आफूहरूले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन जारी राखेकोमा सरकारले धरपकड गरेको बताएका छन् ।
प्रदर्शनकारीहरूले ठूलो मात्रामा स्रोत–साधनको क्षति गराएका थिए भने प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले बेला–बेलामा व्यापक मात्रामा बल प्रयोग गर्ने गरेको थियो ।
सरकारले उक्त कार्यक्रमपश्चात् यहाँको प्रदर्शन रोकिने अनुमान गरेको छ । तर, यस विषयमा भने प्रदर्शनकारीहरूको केही भनाइ आएको छैन ।