कार्यान्वयनको पर्खाइमा मौद्रिक नीति «

कार्यान्वयनको पर्खाइमा मौद्रिक नीति

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिडले थलिएको अर्थतन्त्रलाई ध्यानमा राखेर राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गत आवमा पुनर्कर्जा तथा सहुलियत कर्जाका विभिन्न कार्यक्रमहरू ल्याएको मौद्रिक नीतिले यस वर्ष साना व्यवसायहरूलाई पनि विशेष ध्यानमा राखेको छ । वित्तीय स्थायित्व, राहत तथा आर्थिक पुनरुत्थानका लागि राष्ट्र बैंकको मौद्रिक नीतिले कस्तो भूमिका खेल्छ भन्ने विषयमा कारोबारकर्मी सुमित सुवेदीले अर्थविद्हरूसँग गरेको कुराकानीको सार :

मौद्रिक नीति सकारात्मक छ
सुमन शर्मा
पूर्व अर्थसचिव

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले समग्रमा सकारात्मक खालको मौद्रिक नीति ल्याएको छ । कोभिडको समयमा व्यापार–व्यवसाय गर्नेहरूलाई राहतका कार्यक्रमहरू ल्याएको छ । कर्जाहरूको पुनर्संरचना गर्नेदेखि पुनर्कर्जा, सहुलियत कर्जा, राहत तथा पुनस्र्थापनाका कार्यक्रमहरू पनि आएका छन् । वित्तीय सेवालाई सहज बनाउने जस्ता राम्रा कुराहरू पनि आएका छन् । सेयरमा पनि १२ करोडभन्दा बढीको कर्जा लिन नपाइने भन्ने व्यवस्था ग¥यो, यसले सेयर बजारलाई पनि केही नियन्त्रण गर्न खोजिएको देखियो । समग्रमा हेर्दा कार्यक्रमहरू सकारात्मक नै छन् । तर, मुख्य कुरा सबै सुविधाहरू दिने भनियो, त्यसका लागि पैसा कहाँबाट आउँछ त ? बैंकले आफ्नो पैसा हाल्ने त होइन ।
व्यापार व्यवसाय गर्न पनि कर्जा दिने, गाडी किन्न पनि कर्जा दिने, विपन्न कर्जाहरू पनि दिने भनिसकेपछि त्यो कर्जा दिने पैसा कहाँबाट आउँछ ? त्यो आउने भनेको त बचतकर्ताबाट हो । निम्नवर्गीय बचतकर्ताहरू छन्, मध्यमवर्गीय बचतकर्ताहरू छन् । बैंकहरूले सहुलियत कर्जा दिने भएपछि त बचतकर्ताहरूको ब्याजदरमा कम्प्रोमाइज हुने भयो ।
‘कस्ट अफ फाइनान्सिङ’ त बढ्यो नि, त्यसले बचतकर्तालाई घाटा हुन्छ जस्तो देखिन्छ । त्यो विषय सन्तुलन गर्नुपर्ने कुरा हो । एकातर्फ राहत दिँदा अर्कोतर्फ घाटा हुन जान्छ । यसको नतिजा कस्तो हुन्छ, हेर्न बाँकी नै छ ।
अहिलेको अवस्थामा व्यवसायहरू मर्कामा छन् । राहत दिनु राम्रो हो । तर, त्यसको खर्च त बचतकर्तामा आउने भयो । यसमा बैंकहरूले पनि केही कम्प्रोमाइज गर्नुपर्ने थियो । त्यसैले बैंकको स्प्रेड रेटमा पनि केही पुनर्विचार गरेको भए केही राम्रो हुने थियो ।
तर, समग्रमा हेर्दा मौद्रिक नीति राम्रो नै छ । मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र नै राख्ने भनेको छ । बैंकको लगानी बढ्ने खालको नीति लिएको छ । राहत तथा पुनरुत्थानका कार्यक्रमहरू पनि आएका छन् । यसले अर्थतन्त्रमा स्थायित्व ल्याउँछ भन्ने अपेक्षा गराँै । थलिएको अर्थतन्त्र पुनः चलायमान हुन्छ र लगानीको वातावरण सिर्जना हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । तर, कार्यक्रमहरू कत्तिको प्रभावकारी ढंगले कार्यान्वयन हुन्छन्, त्यो हेर्न बाँकी नै छ ।

निजी क्षेत्रलाई विश्वासमा लिन सक्यो
कृष्णहरि बाँस्कोटा
पूर्व अर्थसचिव

कोभिड फैलिएपछि अर्थतन्त्रमा ठूलो नै आघात परिरहेको छ । विश्वव्यापी रूपमा नै जीडीपीमा असर गरेको छ । यस्तो समयमा अहिलेको मौद्रिक नीतिले दुईवटा विषयलाई ध्यान दिएको देखियो । एउटा निजी क्षेत्रलाई राहत दिने गरेर कार्यक्रमहरू ल्यायो । साथै गएको वर्ष जुन प्याकेज दिएको थियो त्यो प्याकेजलाई चालू वर्षमा पनि निरन्तरता दियो । नयाँ कार्यक्रम दिनुभन्दा पनि भइरहेको कार्यक्रमलाई निरन्तरता दिनु महŒवपूर्ण हुन्छ । मौद्रिक नीतिले गत वर्षको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दियो, जुन निकै राम्रो विषय हो ।
बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रका लागि निकै राम्रा सहुलियत तथा राहतका कार्यक्रमहरू ल्याएका छन् । लिएको ऋण तिर्न नसके कमाएपछि तिर्दा पनि हुने । ब्याजदरमा छुट पनि पाइने व्यवस्था गरिदियो । अर्को स्टाटअपलाई प्रोत्साहन ग-यो । कसैले कोभिडको समयमा व्यवसाय सुरु गर्छु भन्यो भने उसलाई पनि सहुलियत कर्जा दिने व्यवस्था ग-यो ।
खासगरी कोभिडका कारण साना, मझौला तथा घरेलु उद्योगहरू निकै नै मारमा परेका थिए । ठूलाले जेनतेन गरेर धाने पनि साना व्यवसायहरू निकै नै मर्कामा परेका थिए । संसारको जुनकुनै ठाउँमा पनि देशमा समस्या आएपछि त्यसको असर सबैभन्दा बढी साना तथा कमजोरलाई नै पर्ने गर्छ । त्यसकारण मौद्रिक नीतिले साना व्यवसायहरूलाई पनि हे-यो, त्यो कुरा निकै राम्रो हो ।
मुख्य कुरा के थियो भने अहिले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने अवस्था थियो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निजी क्षेत्रलाई विश्वासमा लिन सक्यो । निजी क्षेत्रले पनि मौद्रिक नीतिलाई मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । नीतिगत रूपमा राष्ट्र बैंकले निजी क्षेत्रको मन जित्यो, त्यो मौद्रिक नीतिको राम्रो पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्