प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी «

प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिँदै प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभारबारे उल्लेख भएको बताए ।
प्रतिगमनको खतरा पूर्ण रुपमा टरिनसकेको निष्कर्ष निकालेको माओवादीले संसदलाई पूर्ण कार्यकाल सञ्चालनका लागि सबैसँग अपिल पनि गरेको छ। पार्टीलाई रुपान्तरण गरेर गुणात्मक फड्को मार्ने प्रस्ताव प्रचण्डले गरेका छन् । साथै चार महिना लामो पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने र जनआधारित पार्टीको रुपमा अघि बढाउने निर्णय पनि माओवादीले गरेको छ ।
माओवादीले विधान संशोधन प्रस्ताव पारित गर्दै पार्टीमा ३५ प्रतिशत महिला, १५ दलित र २० प्रतिशत युवालाई सहभागी गराउने भएको छ । पारित विधान अन्तरिम विधानको रुपमा लागु हुनेछ ।
पाटीले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीबारे ध्यानाकर्षण भएको बताउँदै एसएसबीकै कारण घटना भएको निष्कर्ष निकालेको छ । छानविन टोलीको प्रतिवेदनका आधारमा कूटनीतिक पहल गरेर दोषीलाई कारवाही गर्न सरकारलाई अपिल गर्ने निर्णय गरेको छ ।
अफगानिस्तानको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गर्दै माओवादीले त्यहाँ रहेका नेपालीको बारेमा जानकारी लिन र जीवन रक्षा गर्न सरकारसँग माग पनि गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अझै रुपान्तरण आवश्यक रहेकाले जिम्मेवार भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आइतबार सम्बोधन गर्दै दाहालले भने, ‘अहिले पनि चुनौती र खतरा छन्। हामी जिम्मेवार भएर अघि बढ्नुपर्नेछ । रुपान्तरण हुन सक्नैपर्छ ।’
उनले सबै पक्ष रूपान्तरण भए मात्र उचाइमा पुग्न सकिने बताए । भने, ‘हामी उटा उचाइमा पुग्नैपर्छ । हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ ।’ उनले परिवर्तनका लागि त्याग गर्ने तर्फ पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
दाहालले नेपाली जनतासित जोडिएर कार्यकर्तालाई तल्लो तहसम्म लाग्नसमेत निर्देशन दिएका छन् । उनले सोचेको जसरी त क्रान्ति अगाडि बढाउन नयाँ ढंगले अगाडि बढ्नैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्