नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्ट «

नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्ट

नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ ।

१५ अगस्टको दिनलाई भारतीयहरूले स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छन्, तर यो दिन नेपाल र भारत दुवैका निम्ति समान रूपले उल्लास एवं सम्मानको दिन हो । भारतको स्वतन्त्रता आन्दोलनको सफलतापश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सद्भाव र समर्थन बिर्सि नसक्नु छ । नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाएको छ । यी दुई देशका बहुआयामिक सम्बन्धका केही पक्षहरूलाई विश्लेषण यसरी पनि गर्न सकिन्छ ।

राजनीतिक
वि.सं. १९६२ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले माधवराज जोशीका मित्र भारतका पञ्जाबी मास्टर गुरुदयाल बीएलाई भदौ महिनामा काठमाडौंको डाँडा कटाउँदा नेपालमा प्रजातन्त्र स्थापनार्थ सहिद हुने पहिलो भारतीय थिए । माधवराज जोशी नेपालका पहिलो सहिद शुक्रराज शास्त्रीका बुबा थिए । वि.सं. १९९० माघ १० गतेका दिन पचली भैरवमा सहिद भएका शुक्रराज शास्त्री पनि महात्मा गान्धी, पण्डित जवाहरलाल नेहरू र नेताजी सुभाषचन्द्र बोसबाट प्रभावित थिए ।
२६ जनवरी १९४७ मा कोलकाताको खालसा कलेजमा नेपाली काङ्ग्रेस (तत्कालीन अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस) को स्थापना भएको थियो । यसको घोषणापत्रमा भारत र नेपालको स्वतन्त्रताका लागि समान रूपमा लड्ने प्रतिबद्धता यस पार्टीका नेताहरूले व्यक्त गरेका थिए । सन् १८५७ को सिपाही विद्रोहलाई कुल्चिन राणा प्रधानमन्त्री जंगबहादुरले अङ्ग्रेज शासकलाई गोर्खाली फौज पठाएर ब्रिटिस शासकलाई सहयोग गरेका थिए । जबकि नेपालका जनता भने भारतका जनता र विद्रोही आन्दोलनकारीहरूको पक्षमा थिए । भारतको स्वाधीनता आन्दोलनमा शान्तिप्रिय नेपाली जनता महात्मा गान्धीको अपिलमा अहिंस्रक आन्दोलनमा सहयोग गरिरहेका थिए भने नेपालका कतिपय युवाहरू नेताजी सुभाषचन्द्र बोसको नेतृत्वमा आन्दोलनमा सामेल थिए ।
नेताजी सुभाषचन्द्र बोसका सहायक पञ्जाब भाक्सुमा जन्मेका मेजर पूर्ण सिंहले नै २००७ सालमा नेपालको जनमुक्ति सेनाको कमान सम्हालेका थिए । बीपी कोइराला स्वयंले आफ्नो पहिलो कविता इ.सं. १९३० मा हिन्दी भाषामा मुम्बईमा लेखेका थिए, जसको शीर्षक थियो— स्वतन्त्र भारतकी जय । नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि भारतमै भएको थियो । बनारसमा जन्मेका बीपी कोइराला, रामनगरमा जन्मेका कृष्णप्रसाद भट्टराई र सहरसामा जन्मेका गिरिजाप्रसाद कोइराला नेपालमा प्रधानमन्त्री भए । नेपालमा राणाविरोधी आन्दोलनमा सप्तरीको कुशहाघाटमा शहादत दिने डा. कुलदीप पनि भारतीय नै थिए । जनआन्दोलन–२ मा बिहार सीतामढीका मोहम्मद जहागिरले बानेश्वर काठमाडौंमा शहादत दिएका थिए ।
भारतको स्वाधीनता आन्दोलनताका भारतका आन्दोलनकारीहरू अङ्ग्रेजहरूको व्यापक दमन, अत्याचार एवं गिरफ्तारीबाट बच्न सीमावर्ती नेपालको तराई क्षेत्रमा लुकेर बस्थे । सप्तरीको हनुमाननगर जेलमा वरिष्ठ भारतीय नेताहरूलाई पनि पक्राउ गरेर राखिएको थियो । स्थानीय जनताले जेल फुटाई तिनलाई मुक्त गराएका थिए । पश्चिमी तराईमा अवध नवाबका महारानी बेगम हजरत महल पनि अङ्ग्रेजको आतंकबाट बच्न महिनौं कपिलवस्तुमा समय बिताएकी थिइन् । स्व. बीपी कोइराला र मनमोहन अधिकारी त भारतको स्वाधीनता आन्दोलनमा पक्राउ पनि परेका थिए । बिहारको राजधानी पटनामा स्व. बीपी कोइरालाको स्मारक हुनु यसैको संकेत हो । नेपाली काङ्ग्रेसले राणाशासनको विरोधमा सशस्त्र सङ्घर्षको उद्घोष पनि रौतहटको सीमावर्ती भारतीय बजार बैरगनिया सम्मेलनबाट गरेका थिए ।
जहानियाँ राणा शासनको अन्त्यका निम्ति तत्कालीन राजा त्रिभुवनले काठमाडौंस्थित भारतीय राजदूतावासमा शरण लिएका थिए र विशेष वायुयानमार्पmत नयाँ दिल्ली पुगेका थिए । भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको पहलमा राणा, नेपाली काङ्गे्रस र राजा त्रिभुवनबीच सम्झौता भई नेपालमा प्रजातन्त्रको स्थापना भएको हो ।
भारत स्वतन्त्र भएपछि मात्रै नेपाल र भारतबीच स्वतन्त्र र सार्वभौम दौत्य सम्बन्ध स्थापित भयो र प्रथम पटक भारतका महामहिम श्री सुरजित सिंह मजिठिया भारतको राजदूतका रूपमा नेपाल आए । जबकि नेपालको तर्पmबाट सम्भवतः श्री सिंहशमशेर राणा भारतका लागि नेपालका राजदूत नियुक्त हुनुभयो । सन् १९५० को ३१ जुलाईमा नेपाल र भारतबीच भएको शान्ति र मैत्री सन्धिमा सर्वप्रथम दुवै देशलाई समान रूपको स्वतन्त्र, अखण्ड र पूर्ण सार्वभौमसत्ता सम्पन्न देशको दर्जा दिइयो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसदीय बहुदलीय व्यवस्थालाई अन्त्य गरी देशमा निर्दलीय शासन लागू गर्दा र नेपालको प्रजातन्त्रवादीहरूलाई जेलमा राख्दा सर्वप्रथम भारतले नै त्यसको विरोध गरेको थियो । नेपालका प्रजातन्त्रवादीहरू पुनः भारतमै निर्वासनमा रहन बाध्य भए । डेढदेखि दुई दशकसम्म नेपाली नेताहरूले भारतमा निर्वासनमा बस्नुप-यो । वि.सं. २०४६ मा प्रजातन्त्र पुनः स्थापनाको आन्दोलनमा पनि भारतका तत्कालीन नेताहरू चन्द्रशेखर, सुब्रमण्यम स्वामी, एमजे अकबर, एम फारुकी र हरकिसन सिंह सुरजितहरू काठमाडौं आएर राजतन्त्रविरोधी सम्बोधनमार्पmत् नेपालका प्रजातन्त्रवादीहरूलाई आन्दोलनका निम्ति उत्प्रेरित मात्रै गरेनन्, अपितु आन्दोलनमा भारतको पूर्ण सहयोगको वाचा पनि गरे । आन्दोलन सफल पनि रह्यो । फेरि विसं. २०५९ सालमा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिँदा भारतले माओवादी र संसद्वादी सात दललाई एउटै थलोमा ल्याई नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गराई आन्दोलनको निम्ति उत्प्रेरित ग-यो र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

सामाजिक एवं सांस्कृतिक सम्बन्ध
नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौं, किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफुसँगै सुन्दै र बुझ्दै आएका छौं । धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित आन्तरिक रूपमा बाँधिदिएको छ कि दुवै देश पृथक् भएर पनि अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत एउटै सांस्कृतिक चेतनाका संवाहक हुन् । हिमालय हामी दुवैका निम्ति आत्मसाधनको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान् शिखरहरूले हामीलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छ । राजनीतिक रूपले नेपाल–भारत दुई पृथक् सार्वभौमसत्ता सम्पन्न एवं अलग–अलग अस्तित्वका देश हुन्, तर सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले यी दुई राष्ट्र एकअर्काका निम्ति अभिन्न हुन् । नेपाल–भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् । चार धाम, पवित्र तीर्थस्थल, देवीदेवता, पूजन पद्धति, कर्मकाण्डीय मान्यता र संस्कार, ऋषिमुनिहरू, चार वेद, अठार पुराण, गीता, महाभारत, रामायण आदि धर्मशास्त्रहरू तथा हाम्रा महान् ऋषिमुनि एवं महापुरुषहरूको महान् वाणी तथा दिव्य उपदेश हाम्रो निम्ति साझा र एउटै हुन् ।
नेपाल र भारतका आर्यहरू एउटै ऋषिका वंशज हुन् । तसर्थ हाम्रा गोत्र पनि एउटै छ । किरातरूपी भगवान् शिवलाई मान्ने नेपालको पूर्वी पहाड तथा भारतको सिक्किमलगायतका उत्तरी पूर्वी क्षेत्रका आदिवासी, जनजातिबीच पनि सांस्कृतिक समानता रहेको पाइन्छ । दुवै देशका बुद्धमार्गीहरूले भगवान् गौतम बुद्धको स्मरण गर्ने प्रवृत्ति एउटै किसिमको रहेको छ । देवकर्म होस् अथवा पितृकर्म हामीले त्यसको आरम्भ गरी लिने संकल्प तथा सम्पूर्ण पूजन कार्यको शब्द र भाषाहरू एउटै हुने गर्छ । नेपाली र हिन्दीको लिपि पनि संस्कृतकै देवनागिरी रहेको छ । तीन देवता ब्रह्मा, विष्णु र महेश, त्यसैगरी तीन शक्तिहरू महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी समान रूपले पूजा गर्छाैं । पशुपन्छी, जड, जङ्गम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो साझा मान्यता रहिआएको छ । हिमालय, गङ्गा र पवित्र गाईप्रति हाम्रो अटुट मान्यता एवं आस्थाले हाम्रो सम्बन्धलाई झन्–झन् प्रगाढ बनाएको छ ।
त्रेतायुगमा माता जानकी र मर्यादा पुरुषोत्तम रामको विवाह, मिथिला र अयोध्याको सम्बन्ध, द्वापरयुगमा विराट राज्यसित पाण्डवहरूको सम्बन्ध एवं मित्रता तथा भगवान् गौतम बुद्धसमेतको जीवनगाथा नेपाल र भारतको साझा चर्चा नगरी पूर्ण हुन सक्दैन । सामाजिक रीतिरिवाज, खानपान, रहनसहन वेशभूषा र बोलचालको भाषा पनि एकैजस्तै रहेको छ । नेपालको उच्च शिक्षा अध्ययन गर्न अभाव रहेको बखत भारतका पटनाबाट नेपाली विद्यार्थीहरू विश्वविद्यालयको शिक्षा ग्रहण गर्थे । भारतका योग्य गुरुवर्ग, प्रशिक्षक, डाक्टर विज्ञहरूले समय–समयमा आएर नेपालीहरूलाई दीक्षित गरेका छन् । भारतको संविधानमा नेपाली भाषालाई मान्यता दिइएको छ । नेपाली, मैथिली, हिन्दी र भोजपुरीका लेखक, विद्वान् एवं साहित्यकारहरू दुवै देशमा छन् । नेपालको कला, सङ्गीत, साहित्य र विज्ञानको क्षेत्रमा समेत भारतको सहयोग गर्दै आएको छ । भारतीय सिनेमा जगत्मा नेपालका अनगिन्ती कलाकारहरूले मान र सम्मान पाएका छन् । एउटा नेपाली भारतमा पुग्दा अथवा कुनै भारतीय नेपाल भ्रमणमा आउँदा आफ्नै देशमा रहेको जस्तो अनुभूति हुने गर्छ । नेपाली भाषा–साहित्य र सङ्गीतको उन्नयनमा भारतीय विद्वान् र कलाकारहरूको पनि महत्वपूर्ण योगदान रहिआएको छ ।

आर्थिक
नेपाल र भारतबीच द्विपक्षीय आर्थिक सम्बन्धको थालनी सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धदेखि भएको हो । खासगरी त्रिभुवन राजमार्ग, केन्द्रीय टेलिग्राम सेवा, वीर अस्पताल आदि पूर्वाधारहरू आज पनि दुईपक्षीय सम्बन्धको प्रतीकका रूपमा रहेका छन् । केही वर्षअघि मात्रै उद्घाटन गरिएको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको निर्माण पनि भारतकै आर्थिक सहयोगबाट भएको हो ।
भारतले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोगमा सडकतर्पm पूर्व–पश्चिम महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, सुनौली–पोखरा राजमार्ग तथा काठमाडौं–दक्षिणकाली, काठमाडौं–बालाजु, काठमाडौं–त्रिशूली, काठमाडौं–गोदावरी मार्ग हुन् । भारत सरकारको आर्थिक सहयोगमा डेढ हजार किलोमिटर लामो हुलाकी सडकको निर्माण कार्य जारी छ भने तराईका अधिकांश जिल्ला सदरमुकामहरूलाई पूर्व–पश्चिम राजमार्गसित जोड्ने सडकको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ अथवा भइरहेको छ । जलविद्युत्तर्पm देवीघाट, गण्डक, त्रिशूली, टनकपुरलाई लिन सकिन्छ भने माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य पनि भारत सरकारकै सहयोगमा हुने भएको छ । दुवै परियोजना ९÷९ सय मेगावाटका हुन् । भारतबाट बिजुलीको आयात भइरहेका कारण विगत केही वर्षदेखि लोडसेडिङ बन्द छ । निकट भविष्यमै नेपालले भारतलाई बिजुली निर्यात गर्न अपेक्षा गर्न सकिन्छ । भारतसित भएको विद्युत् विकास तथा विद्युत् व्यापार सम्झौताले नेपालको अर्थतन्त्रलाई मद्दत पु¥याउनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, जनकपुर, सिमरा र भैरहवा विमानस्थलको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ । त्यसैगरी सञ्चार क्षेत्रमा पूर्व–पश्चिम अप्टिकल फाइबर नेटवर्क, गोस्वारा हुलाक काठमाडौं, वैदेशिक हुलाक कार्यालय भवन, झापा, वीरगन्ज, विराटनगर तथा जनकपुरधाममा टेलिफोन एक्सचेन्ज भवनको निर्माणमा पनि भारतले सहयोग गरेको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको कोहलपुर र महेन्द्रनगर सडकअन्तर्गत २२ वटा पुललगायत अन्य क्षेत्रमा दर्जनौं पुलको निर्माण र नदी नियन्त्रणमा समेत सहयोग गरेको छ ।
बागमती, बकैया र कमला नदीमा तटबन्धको निर्माणमा पनि भारतले सहयोग गरेको छ ।
स्वास्थ्य विज्ञान क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रसूति गृह थापाथली, शिक्षण अस्पतालका लागि उपकरण तथा अनेकौं जिल्ला वा अस्पताल भवनको निर्माण, शैक्षिक पूर्वाधार निर्माण क्षेत्रमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विज्ञान भवन पुस्तकालय, छात्रावास, कर्मचारी भवन, त्रिचन्द्र कलेजको विज्ञान भवन, विराटनगरलगायत देशका विभिन्न भागमा सयकडौं विद्यालय भवनको निर्माणमा सहयोग गरेको छ । यसका अतिरिक्त ग्रामीण विद्युतीयकरण, वीरगन्ज सुक्खा बन्दरगाहलाई रेलसँग जोड्ने काम, पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि अमलेखगन्जसम्म पाइपलाइनको निर्माण, सूचना प्रविधिको विकासमा सहयोग, गोरखा रेजिमेन्टमार्फत हजारौं युवालाई जागीर, भारत सरकारले नेपालका करिब सबै जिल्लाहरूमा विकास निर्माणको कार्यक्रममा सहयोग गरेको छ । भारत सरकारले अहिले ८ हजार करोडभन्दा बढी रुपैयाँ लगानी नेपालको विकास निर्माणमा गरेको छ ।
परियोजनाहरू सञ्चालन पूरा हुने अथवा भइरहेका छन् । हालका दिनमा पनि विभिन्न जिल्लामा अस्पताल भवनको निर्माण, सडक तथा पुलको निर्माण, एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान, विभिन्न तहका छात्रहरूलाई निःशुल्क छात्रवृत्तिमा भारतका स्तरीय क्याम्पस र विश्वविद्यालय अध्ययनको अवसर प्रदान, सीमा चौकीहरूको निर्माण, रेलमार्ग, पूर्वाधारको निर्माण, तराईका १५ वटा जिल्लामा २० भन्दा बढी सडकहरूको निर्माण कार्य सबै तराई क्षेत्र र राजधानीलाई जोड्ने २६ किलोमिटर दूरीको काठमाडौं–हेटौंडा सडकको निर्माणमा पनि भारतले सहयोग गरेको छ । भारतले गरेको सबै सहयोगको उल्लेख गर्नु सम्भव पनि छैन । मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन, तथापि दक्षिणी छिमेकी भारतले नेपाललाई गरेको सहयोग मित्रतास्वरूपको उपहार हो । कोभिड–१९ को संकटमा पनि भारतले गरेको सहयोग बिर्सि नसक्नु छ ।

प्रतिक्रिया दिनुहोस्