नेपाली श्रमिकको उद्धार कार्य सुरु «

नेपाली श्रमिकको उद्धार कार्य सुरु

तालिवानले कब्जा गर्दै गएपछि युद्धग्रस्त अफगानिस्तानमा रोजगारीको सिलसिलामा गएका नेपाली आक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै सरकारले उद्धार प्रक्रियाका लागि कार्यदल गठन गरेको छ ।
अन्य देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थान तथा आफ्नो देश फर्काउन थाले पनि नेपाल सरकारले भने ढिलोगरी आइतबारबाट त्यहाँ रहेका नेपाली श्रमिकको उद्धार प्रक्रिया सुरु गरेको हो । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीको अवस्था वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्नका लागि कार्यदल बनाएको जनाएको छ ।
अफगानिस्तानमा करिब एक हजार पाँच सय नेपाली नागरिक विभिन्न देशका नियोग तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत रहेको परराष्ट्रको भनाइ रहे पनि वैदेशिक रोजगार विभागको तथ्यांकमा रोजगारीको सिलसिलामा मात्र विगत ४ वर्षमा ५ हजार २६९ नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले त्यहाँ रहेका नेपाली अहिलेसम्म गम्भीर समस्यामा नपरेको बताइन् । यता परराष्ट्र मन्त्रालयले भने मुख्यसचिवको संयोजकत्वमा अन्तर–मन्त्रालय बैठक राखेर मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्य रहने गरी एक कार्यदल गठन गरिएको जनाएको छ ।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता प्रोटलको व्यवस्था गरिएको छ । सो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन परिवारलाई अनुरोध गरिएको छ ।
उद्धारसँग सम्बन्धित सम्पर्कका लागि सामाजिक संजाल भाइवर, वाट्सएप सुविधासहितको कन्सुलर सेवा विभागको मोबाइल नम्बरहरु र परराष्ट्र मन्त्रालयको मोबाइल नम्बर व्यवस्था गरिएको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्ने र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्र संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको मन्त्रालयले जनाइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको बताए । यसैगरी अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ । विगत चार वर्षमा मेनपावर कम्पनीमार्पmत मात्र ७७९ नेपाली रोजगारीका लागि गएका थिए । यसैगरी व्यक्तिगत रुपमा ४ हजार ४९० नेपाली अफगानिस्तानमा गएको तथ्यांक छ । यसमा महिलाको संख्या ११ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्