छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्दैन : बोर्ड अध्यक्ष «

छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्दैन : बोर्ड अध्यक्ष


धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले विवाहित छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा उनले विवाहित छोरी एकाघरका परिवारका सदस्य नरहने धितोपत्र सम्बन्धि ऐनमा स्पष्ट व्यवस्था भएकाले उनको सेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्कसमेत गरे । उनले विवाह गरेर अर्काको घरमा गइसकेको छोरीले कहाँ कस्तो कारोबार गरेको छ भनेर आफूसँग जोडेर हेर्न नहुने जिकिर गरे । “मेरा छोरी र ज्वाँइ अमेरिका बस्न थालेको ५ वर्षभन्दा बढी समय भयो । उनीहरुले के व्यवसाय गर्छन् वा कता लगानी गर्छन् भनेर मसँग जोडिने कुरा होइन” उनले भने ।
ढुंगानाले धितोपत्र बजार सम्बन्धी विद्यमान ऐन, कानून र आचारसंहिताले यो विषयमा स्पष्ट पार्ने र आफ्नो कुनै कसुर नरहेको साबित हुने पनि बताए ।
यसैगरी, बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि अध्यक्ष ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेका थिए ।
उपकार्यकारी निर्देशक डा. अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिए । बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए । बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उप–कार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारमा भित्र पर्ने व्यवस्था धितोपत्र सम्बन्धि कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गरे ।
उनले धितोपत्र सम्बन्धि ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको भन्दै सांसदहरुको ध्यानकर्षण गराए । “विवाहित छोरीले सेयर खरिद बिक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ” उनले भने, “बोर्डले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टिकरण दिइसकेको छ ।”
समिति सभापति कृष्णप्रसाद दहाल र सांसदहरु रामकुमारी झाँक्री र प्रमिला राईले बोर्डका पदाधिकारीले गम्भीर विषयमा पनि टालटुल जवाफ दिएको टिप्पणी गरे । बोर्डका अध्यक्षकी छोरीको नाममा भएको सर्वोत्तम सिमेन्टको सेयर खरिदबारे विस्तृतमा अध्ययन गरिनुपर्ने उनीहरुको माग छ ।
सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुन विपरित छोरीको नाममा १० हजार कित्ता सेयर जारीको अनुमति पाउनु भन्दा करिव ३ साता अघि खरिद गरेको आरोप लागेको छ । बोर्ड अध्यक्षको छोरीको कारोबारको प्रश्न कानूनीमात्र नभएर नैतिक पनि हो । सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यलाई पुँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैंले गरेको भन्दै आपत्ति जनाएका थिए । उनले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनि बोर्डका सदस्यहरुलाई प्रश्न पनि गरे ।
समितिका सदस्यहरुले परिवारलाई सेयर बाँडफाँट गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीलाई सचेत गराएका थिए । समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीसँग पनि छलफल गर्ने जनाएको छ । यस्तै, समितिले अर्को बैठकमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र पदाधिकारीलाई बोलाएर छलफल गर्ने भएको छ । सर्वोत्तम सिमेन्ट ओटिसी सेयर खरिद प्रकरणमा साउद पनि मुछिएका छन् ।
बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टले नियामक निकायमा रहेका व्यक्तिका परिवार, धितोपत्र दलाल र लगानीकर्तासमेतलाई ओभर–द–काउन्टर (ओटिसी) सेयर बिक्री वितरण गरेको विषयमा अर्थ समितिले विस्तृत छानबिन अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्