एकैदिन साढे २१ अर्बको सेयर कारोबार «

एकैदिन साढे २१ अर्बको सेयर कारोबार


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेसँगै बजारमा उतारचढाव देखिएको छ । तर घट्दो बजारमा पनि कारोबार रकमले भने कीर्तिमान राखेको छ ।
आइतबार कारोबार सुरु भएलगत्तै बढ्न थालेको बजार दिनभर उतारचढाव हुँदै अन्तिममा ०.७७ प्रतिशतले घटेको छ । बिहीबार ३१७८.९१ अंकको उच्च रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार २४.५७ अंकले घटेर ३१५४.३३ अंकमा झरेको छ । नेप्से सूचकमा गिरावट आएपनि कारोबार रकमले भने कीर्तिमान कायम गरेको छ । आइतबार २२२ कम्पनीका ३ अर्ब ५५ करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि जेठ ३० गते एकैदिन १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्से घट्न थालेसँगै कारोबार रकम पनि घटेर ४ अर्ब रुपैयाँसम्म झरेकोमा नयाँ आर्थिक वर्ष सुरु भएपछि बजारको वृद्धिसँग कारोबार रकम पनि बढ्न थालेको हो । बिहीबार नेप्सेले रेकर्ड कायम गर्दा साढे १७ अर्ब बराबरको कारोबार भएको थियो ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन सक्ने व्यवस्था गर्ने घोषणा गरिए पछि त्यसेको असर सेयर बजारमा देखिएको लगानीकर्ताले बताए । सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित मौद्रिक नीतिमा यस्तो व्यवस्था लागू गर्ने गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार उल्लेख गरेका थिए ।
सीमित व्यक्ति तथा संस्थाले वित्तीय प्रणालीबाट ठूलो परीणाममा सेयर धितो कर्जा लिएर बजारमा चलखेल गरेको आशंकामा केन्द्रीय बैंकले यसमा कडाइ गर्ने घोषणा गरेको हो । यद्यपी केही लगानीकर्ताहरुले भने आइतबारै अर्थमन्त्री जर्नाद्धन शर्मालाई भेटेर यसको विरोध गरिसकेका छन् ।
आइतबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकमा पनि गिरावट आएको छ । यसदिन लगानी, उत्पादनमूलक र लघुवित्तबाहेकका सबै उपसूचक घटेका छन् ।
आइतबार बजारमा सर्वाधिक कारोबार हुँदा सबैभन्दा बढी नेपाल बैंकको १ अर्ब ५ करोड बराबरको कारोबार भएको छ । यसदिन कारोबार भएका ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२६ कम्पनीको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्