डिजिटल नेपालको विजेतालाई पुरस्कार वितरण «

डिजिटल नेपालको विजेतालाई पुरस्कार वितरण

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ । विभिन्न विधामा ८ विद्यार्थीहरुले २५ हजारदेखि १ लाख रुपैयाँसम्मको पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उनीहरुले विभिन्न स्पोन्सरबाट आकर्षक पुरस्कार र इन्टरनेट सुविधा समेत प्राप्त गरेका छन ।


प्रतियोगिताको प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, माइतिघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् । उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुँदै एक लाख रुपैयाँ जितेकी हुन् ।


दोस्रो हुनेमा बगंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरबाट यस वर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् । प्रश्नाले ‘पूरा होस् मेरो सपनाः डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरुले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।


तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डंगोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् ।


असिमले ‘डिजिटल नेपाल ः एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेषताले ‘माइ डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन् । तेस्रो हुने सबै जनाले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्