ओझेलमा लरैना मन्दिर «

ओझेलमा लरैना मन्दिर

दाङ-धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना अहिले ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा बराह क्षेत्र वाशुदेव धार्मिकस्थल लरैना ओझेलमा परेको हो ।
घोराही उपमहानगरपालिका–९ लरैनामा स्थानीयवासीले २०४५ सालमा बराहक्षेत्र वाशुदेव मन्दिरको निर्माण गरेर यस क्षेत्रको विकासको थालनी गरे पनि राज्यको सहयोग नहँुदा विकासमा पछाडि परेको छ । करिब एक बिघा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा स्थानीयवासी तथा केही व्यक्तिको पहलमा मन्दिर निर्माण गरिएको छ ।
झण्डै एक सय वर्ष पुरानो धार्मिक महत्व बोकेको मन्दिर प्रचार प्रसार अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडि परेको स्थानीय वीरबहादुर चौधरीले बताए । यस क्षेत्रको धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना रहे पनि राज्यबाट विकासको कुनै पनि पहल नभएको उनको गुनासो छ । “लरैना धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको उनको भनाइ छ । “यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ,” चौधरीले भने । तर यसका लागि राज्यबाट कुनै पनि पहल हुन सकेको छैन । सन्तान नहुने मानिसले यहाँ आएर भाकल गरी पूजापाठ गरे सन्तान प्राप्त गर्ने जनविश्वास रहेको स्थानीय बासिन्दा बताउँछन् । मन्दिर संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि राज्यको सहयोग नपाउँदा लरैना धार्मिक क्षेत्र पछाडि परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहालले बताए । स्थानीयको पहलमा बराहक्षेत्र वाशुदेव मन्दिर, चौतारी, मन्दिर भर्खाल निर्माण गरेर यस क्षेत्रको विकासको थालनी भएको अध्यक्ष दाहालको भनाइ छ । बराहक्षेत्र वाशुदेव मन्दिर लरैनाको विकास र संरक्षणमा ध्यान दिने सके यस क्षेत्रकै विकास हुने उनी बताउँछन् ।
लामो धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले पनि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । यस क्षेत्रलाई बाह्र भगवानका १२ भाइमध्ये कान्छो भाइ रहेको विश्वाससँगै पूजापाठ गर्ने प्रचलन छ । “यस क्षेत्रलाई बाह्रका कान्छो भाइ रहेको जनविश्वाससँगै यहाँ आएर तालमा नुहाउँने र पूजा गर्ने प्रचलन छ,” उनले भने । अन्य समयमा कम आउने गरे पनि माघे संक्रान्तिमा मानिसको भीड लाग्ने गरेको उनको भनाइ छ । माघे संक्रान्तिमा दाङसँगै बाँके, बर्दियालगायतका क्षेत्रबाट समेत दर्शनार्थी आउने दाहालले बताए । चौधरी पुजारी रहेको मन्दिरमा पर्यटन बोर्डका तर्फबाट पोखरी निर्माण र साविक त्रिपुर नगरपालिकाका तर्फबाट प्रतीक्षालय निर्माण गर्ने काम गरिएको बताए ।
धार्मिक क्षेत्रको विकासका लागि दानबहादुर डाँगीले उक्त क्षेत्रमा करिब ६ लाख रुपैयाँमा भगवती मन्दिर निर्माण गर्न लागेको बताए । मन्दिरको करिब आधा बढी निर्माणकार्य पूरा भएको उनले बताए । घोराही उपमहानगरपालिका–१५ निवासी हरिवंश दाहाल र चित्रांग दाहाले एक लाख ७० हजार खर्च गरेर चौतारी तथा रणदिप पौडेलले मन्दिरमा करिव एक लाख ९२ हजार खर्च गरी पर्खाल तथा मन्दिर क्षेत्रमा टायल बिछाइएको अध्यक्ष दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्