वर्षाले ग्रामीण सडक अवरुद्ध

बर्षाले उदयपुरका दर्जनौं ग्रामीण सडक क्षतिग्रस्त हुँदा आन्तरिक यातायात अवरुद्ध भएको छ । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
वर्षाका कारण डहर–रौता–सल्ले, मुर्कुची–पुवारे–भुट्टार, साउने–सल्ले, बेतिनी–माझखर्क, बेतेनीभञ्ज्याङ–राउतखर्क–रुपाटार, पुवारे–माझखर्क–बाराहा, बाराहा–ताम्लिछा लगायतका ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । भेल, बाढी, पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका दर्जनौं सडक क्षतिग्रस्त बनाएको स्थानीय बताउँछन् ।
ट्रयाक खुलेलगत्तै सुख्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको त्रियुगा नगरपालिका–१५ हुवासका प्रवेश वान्तवाले बताए । “सडकलाई नियमितरूपले सञ्चालन गर्नका लागि ट्रयाक खुलेलगत्तै नाली बनाउनु पथ्र्यो,” उनले भने, “तर नाली नबनाइएकाले सडक दिगो हुन सकेनन् ।” डहरदेखि रौता पोखरी जोड्ने सडकसमेत वर्षाका कारण क्षतिग्रस्त भएको उनले बताए ।
भर्खरै खुल्दै गरेका र पहिले खोलिएका धेरै मोड भएका र साँधुरा सडक वर्षापछि अवरुद्ध भएको व्यवसायी बताउँछन् । “सवारी साधन सञ्चालन गर्ने अवस्थै छैन, हरेक सडकका दर्जनौ स्थानमा पहिरो छ,” सवारी चालक दिनेश राउत भन्छन्, “पहाडी क्षेत्रका सडकमा पहिरो पन्छाएर सडक मर्मत नगरी यातायात सञ्चालन गर्न सकिँदैन ।”
जिल्लाको उत्तरी दुर्गम क्षेत्रमा माझखर्क र बाराहालगायतका क्षेत्रलाई समेत सडक सञ्जालले छोएको भए पनि त्यस क्षेत्रका सडकको दर्जनौ स्थानमा पहिरो गएको छ । सुदूरपूर्वमा पर्ने मैनामैनी, सिद्धिपुर बबलालगायतका ग्रामीण क्षेत्रका सडक पनि वर्षाका कारण बिग्रिएका छन् । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको चौदण्डीगढी–१ का विष्णु कोइराला बताउँछन् ।
“करिब चार वर्षअघि ट्र्याक खोलिएको रानीटारदेखि घारे जोड्ने करिब १० किमि सडक काम नलाग्ने गरी भत्किएको छ,” कोइरालाले भने, “चौदण्डीगढी नगरपालिकाको वंसिलाघाट जोड्ने सडकको अवस्था पनि नाजुक छ ।” उनका अनुसार वीरेद्रबजारबाट सिद्धिपुर र चौडण्डी जोड्ने सडक पनि नाजुक अवस्थामा छ । यतिबेला ग्रामीण क्षेत्रका अधिकांश सडकमा टयाक्टरसमेत सञ्चालन गर्न समस्या भएको स्थानीय बासिन्दा बताउँछन् ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले वर्षाले ग्रामीण सडक भत्किनुका साथै दर्जनौ स्थानमा पहिरो गएको बताए । उनका अनुसार ती सडकमा यतिबेला यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन । “वर्षाले नै सडक बिगारेको छ,” उनले भने, “वर्षा रोकिएपछि सडक सफा गरेर मात्र यातायात सञ्चालन गर्न सकिन्छ ।”