तातोपानी नाका पूर्ण सञ्चालनमा ल्याउन व्यवसायीको माग «

तातोपानी नाका पूर्ण सञ्चालनमा ल्याउन व्यवसायीको माग


नेपाल चीनबीचको स्थलमार्ग सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरुपले सञ्चालनमा ल्याउन व्यवसायीहरुले माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भेट गरेर सो क्षेत्रका व्यवसायीले नाका अस्थिर रहँदा मजदुर र व्यवसायीको बिचल्ली भएको भन्दै नाका पूर्ण सञ्चालनका लागि पहल गरिदिन माग गरेका हुन् ।


सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले सयुक्तरुपमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाउँदै सीमाको समस्या हल गर्न आग्रह गरेका हुन् ।


राजस्व संकलनमा महत्वपूर्ण हिस्सा राख्ने यो नाका २०७२ को भूकम्पदेखि अस्थिर रहेको छ । नाका पूर्णरुपले सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । चीनसँग कुटनीतिक पहल गरी तुरुन्तै नाका सञ्चालनमा ल्याउन अनुरोध गरिएको उनले जानकारी दिए ।


“संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको छ” उनले भने । व्यापारिक बजार बाह्रबिसे भन्दा २६ किलोमिटर माथिका सडक क्षतविक्षत छन् । सो सडक मर्मत गरेर नाका सञ्चाालन स्थिर गरिनुपर्ने उनीहरुको माग छ ।


नाका अस्थिर हुँदा संयौंको रोजीरोटी गुमेको भन्दै नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रुपले नाका सञ्चालन हुनुपर्ने बताए ।


सिन्धुपाल्चोकमा यस अघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोसी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदि पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।


कोदारी, तातोपानी, चाकु, बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको नेपाल हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलको भनाइ छ ।


पटक पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । बाह्रविसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा क्षतिग्रस्त भएको लार्चा पुल हालसम्म बन्न सकेको छैन । क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवं उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्