प्राविधिक जाँचबिनै दोस्रो किस्ता ! वडा कार्यालयमा फारम भर्नेको भीड «

प्राविधिक जाँचबिनै दोस्रो किस्ता ! वडा कार्यालयमा फारम भर्नेको भीड

शनिबार आवास निर्माणको पहिलो चरणको काम सकेका चौतारा साँगाचोकगढी नगरपालिका–६ कि रेजिना तामाङले आइतबार वडा कार्यालयमा दोस्रो किस्ताका लागि फारम भरिन् । सरकारले पुस मसान्तभित्र फारम नभरे दोस्रो किस्ता नदिने घोषणा गरेकै कारण उनी हतारहतार आइतबार वडा कार्यालय आइपुगेकी हुन् ।
“गाउँमा ज्यामी, मिस्त्री पाइँदैन, निकै समस्यामा परेर भए पनि डीपीसी गरें,” उनी भन्छिन्, “दोस्रो किस्ताको पैसा नपाइने भएपछि जसोतसो घर निर्माणको पहिलो चरण पार गरें ।” उनले हतार गरेर डीपीसी गरेकाले केही प्राविधिक प्रक्रिया नपुगेको हुनसक्ने बताइन् । पुनर्निर्माण प्राधिकरणले पुस मसान्तभित्रै दोस्रो किस्ताका लागि फारम अनिवार्य भर्नुपर्ने घोषणा गरेकै कारण उनी अघिल्लो दिन घरको डीपीसी सकेर आइतबार सदरमुकाम आइपुगेकी हुन् ।
डीपीसी गरे÷नगरेको अनुगमन गर्न उनको घरमा कोही प्राविधिक पुगेनन् । प्राविधिक रूपले डिजान मिलेको या भूकम्प थेग्ने गरी डीपीसी भएको या नभएकोबारे उनी अझै अनविज्ञ छिन् । तर, वडा कार्यालयले उनको नाम दोस्रो किस्ताका लागि सिफारिस गर्न निवेदन लिइसकेको छ । दोस्रो किस्ताका लागि निवेदनसहित आवश्यक डकुमेन्ट बुझाउने अन्तिम दिन भएकाले जिल्लाका वडा कार्यालयहरु भूकम्पपीडितले घेरिएका थिए । पुस मसान्त आइसक्दा पनि सरकारले म्याद थपको निर्णय नगर्दा हतारहतार डीपीसी गरेर दोस्रो किस्ताका लागि फारम भर्नेको लाम लागेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका–६ कै गोविन्दबहादुर कुँवरले पनि फारम भरे । निर्माण सामग्री र काम गर्ने जनशक्तिको अभावका कारण बेलैमा आवास निर्माण गर्न नसकेका उनले शनिबारमात्र रातारात घरको डीपीसी सकेर दोस्रो किस्ताको रकम लिनका लागि निवेदन दिएका हुन् । “निवेदन नदिए रकम नपाइने कारण हतार गरेर फारम भर्न आएँ,” उनले भने, “गाउँमा कामदार नहुँदा निकै समस्या भोगें ।” निर्माण सामग्रीसमेत अभाव हुँदा समयमै घर बनाउन नपाएको उनले बताए ।
यो वडामा मात्रै ९३७ ले आवास अनुदान सम्झौता गरेका छन् । “अन्तिम दिन भएकाले होला निकै भीड भयो,” वडासचिव उत्तम सापकोटाले भने, “अझै धेरै छुटेका छन्, म्याद थप नभए भूकम्पपीडित मर्कामा पर्नेछन् ।” उनले हालसम्म करिब सात सय जनाले मात्रै दोस्रो किस्ताका लागि निवेदन दिएको बताए ।
प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार हालसम्म कुलमध्ये करिब ४३ प्रतिशत पीडितले मात्रै दोस्रो किस्ताका लागि सिफारिस पाएका छन् । “आइतबार धेरैले फारम भर्नुभएको छ, सबै वडा कार्यालयले सिफारिस पठाएपछि एकिन तथ्यांक आउँछ,” इकाइका प्रमुुख टंक गौतमले भने, “केही दिनमै जिल्ला समन्वय समितिमा दोस्रो किस्ताका लागि सिफारिस हुन्छ ।” उनले समयसीमा म्याद नथपिए धेरै भूकम्पपीडित छुट्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्