चन्द्रागिरि हिल्सा पाँचतारे होटल «

चन्द्रागिरि हिल्सा पाँचतारे होटल

काठमाडौं-चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले आउँदो वैशाखदेखि पाँचतारे होटल संञ्चालनमा ल्याउने तयारी गरेको छ ।
चन्द्रागिरि डाँडामा केवलकार सञ्चालनमा आएसँगै पाँचतारे होटल निर्माण अघि बढाइरहेको चन्द्रागिरि हिल्स प्रालिले आउँदो वैशाखदेखि सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । चन्द्रागिरि हिल्स रिसोर्ट नाम दिइएको उक्त होटल विदेशी पर्यटकलाई लक्षित गरी निर्माण कार्य भइरहेको छ । होटलमा एक सय बेडरुम हुेनछन् ।
होटलको बाहिरी बनावटदेखि भित्री भागसमेत ऐतिहासिक झझल्को दिने गरी बुटिक होटलको अवधारणाअनुसार निर्माणको काम अगाडि बढी छ । काष्ठकलाको प्रयोग हुने होटलमा बाहिर मन्दिरमा जस्तै टुँडाल र भित्रीभागमा तत्कालीन समयका चित्र कँुदिएका छन् । हिल्सका सहायक महाप्रबन्धक सञ्जय झाले होटल सञ्चालनमा आएपछि विदेशी तथा स्वदेशी पर्यटकहरूले नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने बताए । उनले निकट भविष्यमा जिप लाइन, प्याराग्लाइडिङलगायतका खेलको मज्जा लिन सकिने गरी योजना अघि बढाएको पनि जानकारी दिए ।
ऐतिहासिक गोरखा दरबारको डिजाइनमा निर्माण भइरहेको होटलमा दुइटा हेलिकप्टर बस्ने हेलिप्याड, स्वीमिङ पुल, टेनिस कोट, हेल्थ क्लब, अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र लगायतका निर्माण हुनेछन् । अहिले त्यहाँ पुग्न केवलकारको प्रयोग भइरहेकोमा होटल सञ्चालनमा आएसँगै गल्फकार्ड समेत सञ्चालनमा ल्याइने प्रालिले जनाएको छ ।
चन्द्रगिरी हिल्सले आसपासमा ३ अर्ब ५० करोडको लागतमा मेगा प्रोजक्ट बनाइरहेकोमा होटल निर्माणका लागि मात्र १ अर्ब २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । हिल्सले सो स्थानमा केवलकार, भ्यू–टावर, रेस्टुराँ, फनपार्क, सेमिनार हललगायत निर्माण सम्पन्न गरी दुई वर्षदेखि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्