Logo

जथाभाबी गरिने पार्किङलाई व्यवस्थित गर्न जरुरी

Bad parking. Car parked in inappropriate way. Driver annoying everyone. Bad car driver. Parking zone conceptual web banner. Rude disrespectful impolite driver in parking lot or car park. Vector

दिन–प्रतिदिन सवारी साधनको चाप बढिरहेको छ । सवारी साधनको बढ्दो चाप अनि चालकहरूको लापरवाहीका कारणले गर्दा प्रत्येक दिन सवारी साधन दुर्घटनाका खबरहरू पनि सुन्नमा तथा देख्नमा आइराखेको हुन्छ । त्यसमाथि मानिसहरू आफ्नो सहजताका लागि जथाभाबी साधनलाई पार्किङ गर्ने गर्छन् । दैनिक रूपमा आवतजावत गर्न सजिलो हुने हिसाबले गर्दा सामान्य काम गर्नेदेखि लिएर ठूला पदका मानिसहरूसम्मले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे साधनको प्रयोग गर्ने गर्छन् । त्यसमा पनि बढी प्रयोग हुने साधन भनेको मोटरसाइकल नै हो । दुईपाङ्ग्रे साधन हुनाले जता पनि सजिलैसँग लैजान सकिने तथा छिटोछरितो हुने हुनाले यसको प्रयोग ब्यापक रूपमा भएको देखिन्छ । मानिसहरू पनि आफ्नो सहजताका लागि जता मन लाग्यो त्यहीं रोकेर आफ्नो काम गर्ने गर्छन् । यो कदापि सोच्दैनन् कि त्यसरी गरिएको पार्किङले बाटोमा हिँड्ने मानिसहरूलगायत अन्य सवारी चालकहरूलाई कति समस्या परिराखेको हुन्छ । यसरी अव्यवस्थित तरिकाले गरिने पार्किङका कारण सडकमा जाम हुने, ध्वनि प्रदूषण बढ्ने, भीड हुनेलगायत दुर्घटना हुने सम्भावना पनि देखिन्छ । अझै पार्किङ निषेधित क्षेत्र भनेर तोकिएको स्थल देख्दादेख्दै पनि मानिसहरूले त्यहाँ पार्किङ गर्ने गरेको पनि देखिन्छ । मानिसको मानसिकता हेरौं, कस्तो छ यहाँ ? मानिसहरूको यही रवैयाको कारणले गर्दा बेलाबेलामा महानगरीय प्रहरीहरूले सवारी साधन नियन्त्रणमा लिइराखेका हुन्छन् र दण्डितसमेत गरी जरिवाना तिर्न लगाएको पनि देखिन्छ । यो एकदम सही पनि हो । त्यहाँ खतरा छ भन्ने थाहा हुँदाहुँदै त्यस ठाउँमा जानेलाई के भनेर संज्ञा दिने ? यस्तै लापरवाही तथा क्षणभरको गल्तीका कारण सजायको भागीदार हुनु के राम्रो हो ?
केही दिनअघिको कुरा हो, आफ्नो व्यक्तिगत कामको सिलसिलामा थापाथली जाने क्रममा महानगरको गाडीले एक गाडी मोटरसाइकल नियन्त्रणमा लिएर गएको स्वयम् म आफंैले देखेकी छु । त्यस्तै मेरा सहकर्मी मित्रले आफिस आउने क्रममा अनामनगर क्षेत्रमा अन्धाधुन्ध तरिकाले गरिएको पार्किङलाई महानगरीय प्रहरीले नियन्त्रणमा लिएको र नागपोखरीदेखि गैरीधारा चोकसम्म आइपुग्दा साना तथा ठूला सवारी साधन, सामान्य तथा मालवाहक गाडीहरू छरप्रस्ट रूपमा पार्किङ गरिएकाले सडकमा जाम भई प्रहरीले नियन्त्रणमा लिएको र सर्वसाधारणलाई हिँडडुल गर्न सकस भएको गुनासो सुनाइराख्नुभएको थियो । मानिसहरूको यस्तै लापरवाही र हतारमा मोटरसाइकल रोक्ने सिलसिलामा चाबी झिक्न भुल्ने कारणले गर्दा सवारी साधनको चोरी प्रकरण बढिरहेको छ । साथै, जफत गरिएका कतिपय सवारी साधनहरूको वर्षौंवर्षसम्म कर नबुझाएको समेत पाइएको र कतिपय चालकले बिनालाइसेन्स सवारी हाँकेको हुनाले मानिसहरू साधन लिनसमेत जाँदैनन् र सरकारी कार्यालयमा कवाडीको सामानजसरी बसिराखेको हुन्छ । त्यसैले महानगरले यसरी गरिने पार्किङलाई व्यवस्थित गर्न निकै जरुरी छ ।
ट्राफिक प्रहरीले पनि बस स्टपबाहेक अन्यन्त्र यात्रुलाई चढाउन, ओराल्न नदिने नियमलाई अझै कडाइ गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यस्तै टोलटोलका भित्री सडकहरूमा पनि जथाभाबी मालवाहक गाडी र रातिको समयमा अन्य गाडीहरू लेराएर राख्नाले सडकमा दैनिक रूपमा यात्रा गर्न असहज भइराखेको छ । त्यसैले महानगरले ठाउँठाउँमा पार्किङ क्षेत्र तोक्न जरुरी पनि छ । यसरी अस्तव्यस्त रूपमा जथाभाबी सवारी पार्किङ गर्नाले तपाईं–हामीलाई मात्र समस्या हुँदैन । समस्या त यहाँ हुन्छ, जब सर्वसाधारण सहज रूपमा हिँड्न सक्दैनन् र दुर्घटनाको जोखिम बढ्दै गइराखेको हुन्छ । त्यसैले जथाभाबी पार्किङ नगरौं, सभ्य नागरिकको परिचय दिऊँ । तपाईं–हामी सभ्य भए मात्र अरूले पनि सभ्य तरिकाले नियम–कानुन पालना गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्