धितोपत्रको कारोबार नगद वा उधारो ? «

धितोपत्रको कारोबार नगद वा उधारो ?

नगदी कारोबार र राफसाफले छिटो रकम र धितोपत्र प्राप्त हुँदा ग्राहकले छिटोछिटो किनबेच गर्दै मूल्यगत जोखिम कम गर्न तथा पुँजीगत लाभको सम्भावना बढ्न सक्छ ।

सैद्धान्तिक रूपमा अग्रिम भुक्तानीसहित नगद लेनदेन हुने धितोपत्र कारोबार वास्तवमा उधारो कारोबार प्रणालीमा आधारित छ । धितोपत्र सहज किनबेचका लागि नेप्सेको कारोबार प्रणाली र थलो उपलब्ध छ भने राफसाफ र फछ्र्योटको जिम्मेवारी सीडीएससीमा छ । प्रचलित प्रणालीले प्राप्त खरिद–बिक्री आदेशको मूल्य र समय प्राथमिकतामा स्वचालित कारोबार सम्पन्न हुँदा पनि अनिवार्य मानवीय संलग्नता चाहिने झन्झटिलो र लामो राफसाफ र फछ्र्योट प्रक्रियाले तत्कालीन अवस्थामा हाताहाती÷नगदी कारोबार र राफसाफ (रियल टाइम ट्रेडिङ एन्ड सेटलमेन्ट) को सम्भावना कमजोर बनाएको छ ।

प्रचलित कारोबार र राफसाफ
‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ बमोजिम धितोपत्र सूचीकरण तथा कारोबार हुन्छ । हाल सूचीकृत धितोपत्र किनबेचलाई नेप्सेले कारोबार प्रणाली र थलो (ट्रेडिङ सिस्टम र प्लेटफर्म) उपलब्ध गराउँछ । नियमावलीबमोजिम स्वचालित विद्युतीय कारोबार प्रणालीका रूपमा प्रयोगमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) ले मूल्य–समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा खरिद–बिक्री आदेश म्याचिङ र कारोबार व्यवस्थापन गर्छ । लगानीकर्ताको पहुँचमा रहने ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीले धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्ने; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिने; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्ने र रुजु गर्ने सुविधाका साथै रकम भुक्तानी र राफसाफको अतिरिक्त सुविधा पनि दिन्छ । टीएमएसमा सोझै पहुँच र दक्षता नहुनेले ब्रोकरलाई तोकिएबमोजिम खरिदबिक्री आदेश दिएर कारोबार गर्न सक्छन् ।
सम्पन्न कारोबारको राफसाफ भने सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) बाट ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ अनुसार हुन्छ । राफसाफ तथा फछ्र्योट प्रक्रियामा नेप्से, सीडीएससी, राफसाफ सदस्य (ब्रोकर÷सदस्य) र राफसाफ बैंक (ग्लोबल आईएमई र प्रभु) को सहभागिता रहन्छ । विनियम १३ मा राफसाफ सदस्यले धितोपत्रको राफसाफ तथा फछ्र्योट कार्य कारोबार भएको दिनबाहेक दुई कार्यदिन (टी प्लस टु) भित्र तोकिएको समयमा गर्ने व्यवस्था छ । विनियम १४ अनुसार सीडीएससीले अभौतिक धितोपत्रको ‘ट्रेड टु ट्रेड’ वा ‘नेट सेटलमेन्ट’ का आधारमा राफसाफ तथा फर्छ्योट गर्नेछ । राफसाफ प्रक्रियामा क) नेप्सेले दैनिक कारोबार समाप्तिपछि कारोबार विवरण (ट्रेड फाइल) सीडीएससीलाई उपलब्ध गराउँछ; ख) टी प्लस टुभित्र विक्रेता राफसाफ सदस्य (विक्रेता) ले बिक्री भएको धितोपत्र पुल एकाउन्टमा र क्रेता राफसाफ सदस्य (क्रेता)ले रकम राफसाफ बैंकमा जम्मा गर्नुपर्छ; ग) सीडीएससीले नेप्सेबाट प्राप्त कारोबार विवरणका आधारमा राफसाफ सदस्यले बुझाउनुपर्ने तथा बुझाएको धितोपत्र तथा रकम गणना र रुजु गर्नेछ; घ) राफसाफ सदस्यले जम्मा गरेको धितोपत्र वा रकम अपुग भई कुनै कर दस्तुर शुल्क थप गर्नुपर्ने भए थपेर जम्मा गर्न सीडीएससीले निर्देशन दिनुपर्छ; ङ) राफसाफ सदस्यले कारोबारबापत बुझाउनुपर्ने कर दस्तुर शुल्कसमेत सीडीएससीको खातामा रकमान्तर गर्न राफसाफ बैंकलाई निर्देशन दिनेछ; च) तोकिएको चरण÷प्रक्रिया पूरा गरेर सीडीएससीले क्रेता राफसाफ सदस्यले पाउने धितोपत्र सम्बन्धित सदस्यको पुल एकाउन्टमा जम्मा गर्नेछ तथा विक्रेताको रकम सम्बन्धित सदस्यको राफसाफ खातामा जम्मा गर्न राफसाफ बैंकलाई निर्देशन दिनेछ; छ) क्रेता सदस्यले धितोपत्र ग्राहकको खाता (डिम्याट) मा र विक्रेता सदस्यले रकम यथाशीघ्र ग्राहकको खाता (बैंक) मा जम्मा गरिदिनुपर्छ ।
हालको प्रक्रियामा क) कारोबार दिन (टी प्लस जिरो); ख) कारोबारपछिको पहिलो कार्यदिन (टी प्लस वन) मा धितोपत्र किन्ने ग्राहकले रकम र बेच्ने ग्राहकले धितोपत्र ब्रोकरलाई हस्तान्तरण; ग) दोस्रो कार्यदिन (टी प्लस टु) मा किन्ने ब्रोकरले रकम र बेच्ने ब्रोकरले धितोपत्र सीडीएससीलाई हस्तान्तरण; सोही दिन सीडीएससीले कारोबार रुजु गरी धितोपत्र र रकमको राफसाफ गर्दै सम्बन्धित ब्रोकरलाई धितोपत्र हस्तान्तरण र रकम दाखिला; र घ) तेस्रो कार्यदिन (टी प्लस थ्री) मा ब्रोकरले किनेको धितोपत्र (ग्राहकबाट भुक्तानी भइसक्दा) सम्बन्धित ग्राहकको डिम्याट खातामा हस्तान्तरण; सोही दिन टीएमएसले बिल तयार गरेपछि बल्ल ग्राहकलाई रकम भुक्तानी सुरु हुन्छ । ग्राहक र ब्रोकरको खाता टीएमएममा एकीकृत र एउटै बैंक (राफसाफ बैंक) हुँदा बिल तयार भएसँगै तेस्रो कार्यदिनै (टी प्लस थ्री) रकम भुक्तानी हुन सक्छ, तर फरक बैंकमा एनसीएचएलमार्फत हुने भुक्तानीमा थप समय र दिन लाग्न सक्छ ।
निर्धारित प्रक्रिया पूरा गरी सदस्य (ब्रोकरबीच) धितोपत्र र रकम राफसाफ हुनै कम्तीमा दुई कार्यदिन लाग्ने अवस्थामा ग्राहक र ब्रोकरबीच राफसाफ र फछ्र्योटमा स्वाभाविक रूपमा ३-४ कार्यदिन (टी प्लस थ्री) लाग्न सक्छ । राफसाफ तथा फछ्र्योटको विद्यमान कानुनले क्रेता र विक्रेता राफसाफ सदस्यको प्रक्रियालाई समट्दै अन्त्यमा ग्राहकलाई रकम र धितोपत्र हस्तान्तरणको कुरा गरेको छ । तर, ब्रोकर र ग्राहकबीचको राफसाफ र फछ्र्योटमा कानुन मौन रहँदा आपसी अनौपचारिक समझदारीमा कारोबार तथा राफसाफ हुँदै आएको छ । अझ बेचेको धितोपत्र तोकिएको समयमा हस्तान्तरण हुन नसकेमा क्लोजआउट र २० प्रतिशत रकम थप (जरिवना) तिर्नुपर्ने कानुनी व्यवस्था छ, तर ग्राहकले किनेको रकम समयमा नबुझाएमा कानुनी उपचारको व्यवस्था नै छैन्, जसले ब्रोकरसँगै समग्र प्रणालीमा भुक्तानी सन्तुलनको जोखिम निम्त्याएको छ ।

उधारोबाट नगदीको सम्भावना
धितोपत्र बजारका दृष्टिले जति धेरै कारोबार त्यति राम्रो अनि जति छिटो राफसाफ र फछ्र्योट त्यति धेरै कारोबार हुन सक्छ । हुन त विश्व धितोपत्र बजारमा स्वामित्वमा नभएको धितोपत्रसमेत भविष्यमा किनेर दिने कबुलियत (फ्युचर) र एकै दिन किनबेच (इन्ट्राडे) को प्रचलन रहेको अवस्थामा यथासमयमा-हाताहाती राफसाफ तथा फछ्र्योट (रियल टाइम सेटलमेन्ट) असम्भवै भन्न नसकिएला । तर नेपाली बजारमा उपलब्ध प्रविधि (दूरसञ्चारको अवस्था, सफ्टवेयर, हार्डवेयर) का साथै उधारो कारोबारी चरित्र, कानुनी व्यवस्था, किन्ने–बेच्नेको नगद र धितोपत्र हस्तान्तरण क्षमता, कारोबार तथा राफसाफमा संलग्न हुने निकाय र तिनका नियम÷क्षमतासमेतलाई दृष्टिगत गर्दा यथासमयमा राफसाफ सम्भाव्य र व्यावहारिक नहुन सक्छ । विद्यमान कानुनी व्यवस्था र प्रणालीमा सुधार गर्दै कारोबार र राफसाफको सम्पूर्ण जिम्मेवारी बजार सञ्चालक (नेप्से) लाई दिएर कारोबार प्रणाली (टीएमएस) बाटै विक्रेता ग्राहकको डिम्याट खाता रुजु गर्दै बिक्री धितोपत्र र क्रेता ग्राहकको बैंक खाता रुजु गर्दै खरिद रकम स्वचालित तान्ने व्यवस्था भए बल्ल बजार र ग्राहकले खोजेजस्तो नगदी कारोबार र राफसाफ सम्भव हुनेछ । स्वचालित कारोबारमा हुँदासमेत ग्राहकले नै ‘मेरो सेयर’ बाट धितोपत्र र टीएमएस वा बैंकिङ च्यानलबाट आफैंले रकम हस्तातरण गर्नुपर्ने अर्थात् सम्बन्धित व्यक्ति-संस्थाको निर्देशन चाहिने, धेरै निकायको संलग्नता रहँदासम्म केही सुधार सम्भव भए पनि नगदी राफसाफ कठिन छ ।

उधारो र नगदी राफसाफका फाइदा र बेफाइदा
नगदी कारोबार र राफसाफले छिटो रकम र धितोपत्र प्राप्त हुँदा ग्राहकले छिटोछिटो किनबेच गर्दै मूल्यगत जोखिम कम गर्न तथा पुँजीगत लाभको सम्भावना बढ्न सक्छ । यस्तै बजार प्रणालीको सक्रियता बढेर कारोबार, सूचक र पुँजीकरण बढ्दै पुँजीबजारको फैलावट र गहिराइ बढ्न सक्छ । सेबोन, नेप्से, ब्रोकर, सीडीएससी र राज्यसँगै ग्राहक र अन्य सरोकारवालाको पनि आम्दानी बढ्न मद्दत पुग्नेछ । तर, विगतदेखि उधारोमा चलिरहेको बजारमा नगदी कारोबार र राफसाफ सहजै पाच्य नहुन सक्छ । नगद जोहो गर्दै किनबेच गर्ने बहुसंख्यक ग्राहकलाई तत्कालीन नोक्सानी पुग्न सक्छ । भोलि रकम आउँछ वा कुनै धितोपत्र बेचेर तिर्छु भन्दै किन्नेले खातामा रकम नहुँदा किन्नै नसक्ने अवस्थामा समग्र कारोबार र बजार प्रभावित हुन सक्नेछ । प्राविधिक वा व्यक्तिगत कारण क्लोज आउटको जोखिम बढ्न सक्नेछ ।
अन्त्यमा बजारको विकास र विस्तारका लागिसमेत समयसापेक्ष कारोबार र राफसाफ प्रणालीमा सुधार गर्नैपर्छ । तत्काललाई ट्राफिक र प्राविधिक त्रुटि नआउने गरी टीएमएसको गुणस्तरमा सुधार; टीएमएस, डिम्याट र मेरो सेयरबीच यथासमयमा इन्टिग्रेसन; डिम्याटमा नभएको धितोपत्र बिक्री नहुने सुनिश्चिता; एचसीएचएलको राफसाफ समय बढाएर भए पनि विक्रेता ग्राहकले रकम र क्रेता ग्राहकले धितोपत्र ढिलोमा तीन कार्यदिनमा पाउने सुनिश्चितता भए लगानीकर्ता खुसी हुनेछन् । उधारो कारोबारको जोखिम व्यवस्थापन गर्न ग्राहक र ब्रोकरबीचको कारोबारलाई तत्काल कानुनी दायरमा ल्याइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्