‘अमेरिकाले चिनियाँ कम्पनीलाई दमन ग-यो’ «

‘अमेरिकाले चिनियाँ कम्पनीलाई दमन ग-यो’

चीनले आफ्ना उच्चकोटिका प्रविधि कम्पनीहरूमाथि अमेरिकाले दमन गरिरहेको आरोप लगाएको छ । अमेरिकाका सरकारी वकिलहरूले चिनियाँ कम्पनीले अमेरिकी व्यवसायका गुप्त सूचना चोरेको आरोप लगाउँदै त्यसको अनुसन्धान गर्न खोजेको विषयप्रति लक्षित गरी चीनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो ।
चीनका भीमकाय टेलिकम कम्पनीमाथि दबाब बढाउँदै अमेरिकी विधायकहरूले अमेरिकी चीप वा अन्य उपकरण त्यो कम्पनीलाई बिक्री गर्न बाधा लगाउन प्रस्ताव गरेका हुन् । बिहीबार नियमित प्रेस सम्मेलनमा विदेश मामिलाकी प्रवक्ता हुआ चुनिंगले भनिन्, “अमेरिकाको वास्तविक मनसाय भनेको चीनका उच्चकोटिका प्रविधि कम्पनीहरूलाई दमन गर्न र अमेरिका बाहिर राख्न हरसम्भव ग्रहण गर्न सकिने सबै उपाय अपनाउन आफ्ना सबै राज्य संयन्त्रलाई परिचान गर्न खोजेको छ ।”
यस किसिमको अनुसन्धान स्वतन्त्र तथा निष्पक्ष व्यावसायिक प्रतिस्पर्धाको उल्लंघनमात्र नभई विधिको शासनको पनि उल्लंघन हुने हुआले बताइन् । चीनको राज्यसञ्चालित ग्लोबल टाइम्सले हुवावेमाथिको नयाँ दबाबलाई सन् १९५०–५४ को अवधिमा सिनेटर जोसेफ म्याककार्थिले कम्युनिस्ट विरूद्ध अमेरिकी सरकारसँग चलाएको अभियानको एक स्वरूप भएको टिप्पणी गरेको छ । त्यतिखेरको म्याकार्थिवादी अभियान अन्तर्गत कम्युनिस्ट पार्टीसँग सम्बन्धित व्यक्तिहरूलाई कालो सूची बनाई उनीहरूलाई रोजगारबाट बञ्चित गरिएको थियो ।
वाल स्ट्रिट जर्नलले स्रोत उल्लेख नगरी अमेरिकाको न्याय विभागले चिनियाँ टेक कम्पनी हुवावेविरूद्ध उच्चस्तरीय एक फौजदारी छानबिन गर्न लागेको जनाएको छ । यसबारे हुवावे र अमेरिकाको न्याय विभागले प्रतिक्रिया दिन अस्विकार गरेको छ । हुवावे र टी मोबाइलले सन् २०१७मा आपसी विवाद समाप्त गरेका थिए । त्यतिखेर टी मोबाइलले हुवावेमाथि गुप्त व्यापार नीति चोरेको आरोप लगाएको थियो ।
यो विवाद गत वर्ष क्यानाडामा हुवावेका संस्थापककी छोरी एवं कम्पनीका प्रमुख वित्तीय अधिकारी मेंग वांगझउलाई पक्राउ गरिएयता फेरि बल्झिएको छ । यो घटनाबाट आक्रोशित चीनले दुई क्यानाडियनलाई हिरासतमा लियो भने तेस्रोलाई लागू औषधको ओसारपसार गरेको अभियोगमा मृत्युदण्ड दिइएको छ । चीनका उपप्रधानमन्त्री तथा आर्थिक प्रमुख लिउ हिले जनवरी ३० एवं ३१ मा अमेरिकाको भ्रमण गरी दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्