मध्यभोटेकोसी दुई वर्षभित्र सम्पन्न गर्न निर्देशन «

मध्यभोटेकोसी दुई वर्षभित्र सम्पन्न गर्न निर्देशन

ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको निर्माण दुई वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
ऊर्जासचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीलगायतलाई निर्देशन दिएका हुन् । सन् २०१७ जुनमा निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको आयोजनाको आयोजनास्थल पुगेका दुवैले एकीकृत समय तालिका तयार गरी सोहीअनुसार सबै काम समानान्तर रूपमा अगाडि बढाउन निर्देशन दिएका थिए ।
सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिबार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरू क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेपछि उनीहरूले दु्रतगतिमा आयोजनाको कामअघि बढाउन भनेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृत रूपमा काम गर्न नसक्नुलगायतका कारणबाट आयोजनाको काममा ढिलाइ भएकोमा आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जासचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौताअनुसार हुन नसकेको बताए ।
आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत्गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत्गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किमि मुख्य सुरुङमध्ये करिब तीन किमि खनिएको छ । विद्युत्गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षाअनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहे तापनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । “आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नुपर्छ,” उनले भने, “एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तर रूपमा अगाडि बढाउनु होस्, अब आयोजना ढिलाइ गर्नेलाई छुट दिन सकिँदैन ।” उनले दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थपी निर्माणलाई तीव्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए ।  
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । १२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेस्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारणलगायतको लगानी रहने छ ।

प्रतिक्रिया दिनुहोस्