कोरियाबाट फर्केकालाई ग्लोबल आइएमई बैंकले सहुलियत कर्जा प्रवाह गर्ने «

कोरियाबाट फर्केकालाई ग्लोबल आइएमई बैंकले सहुलियत कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्नउद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनकालागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानकारुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको बैकले जनाएको छ ।

यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ भन्ने बैकको ठहर छ । यसका लागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यसका साथै, सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने¸उद्यमशीलताका माध्यमबाट ब्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्