विकासका नाममा प्राकृतिक स्रोतको दोहन «

विकासका नाममा प्राकृतिक स्रोतको दोहन

सरोकारवालाले विकासका नाममा प्रकृतिको दोहन गर्न नहुने बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले बिहीबार गरेको कार्यक्रममा बोल्दै वन तथा वातावरण क्षेत्रका विज्ञले विकास गर्ने बहानामा प्राकृतिक स्रोतको दोहन गर्न नहुने बताएका हुन् ।
विज्ञहरूले पछिल्लो समय बढ्दै गइरहेको विकास प्रक्रियासँगसँगै प्राकृतिक स्रोतको दोहन तथा वातावरणीय क्षेत्रमा नकरात्मक असर पर्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । चुरेविद् विनोद भट्टले विकासको आधार प्राकृतिक स्रोत भएको भन्दै समयमा नै संरक्षण गर्न आवश्यक रहेको बताए । “पछिल्लो समय मानवीय कारणले नै चुरे दोहन तथा विनास भइरहेको छ, जसले गर्दा चुरे क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले प्राकृतिक प्रकोपबाट हुने क्षति बेहोर्नुपरेको छ,” उनले भने, “संरक्षणका लागि बनेका हाम्रा कतिपय नीति कार्यान्वन हुन सकेका छैनन्, वातावरणमैत्री विकास हुन जरुरी छ, निजगढ विमानस्थल बनाउँदा सकेसम्म कम क्षति हुने गरी विमानस्थल बनाउनुपर्छ ।”
वनविद् केशव कँडेलले वातावरण संरक्षणका लागि वैकल्पिक ऊर्जा जतिसक्दो धेरै उपभोग गर्न आवश्यक रहेको बताए । “जलवायु तथा वातावरण संरक्षणका लागि वैदेशिक कोषहरू पनि छन्, हरित जलवायु कोषको रकम ल्याउन अलि झन्झटिलो त छ, तर कसरी त्यहाँको रकम ल्याएर कार्यक्रम गर्नुपर्छ भनेर गृहकार्य गर्नुपर्छ,” उनले भने, “वैज्ञानिक आधारमा अध्ययन अनुसन्धानको कामलाई पनि अगाडि बढाउन जरुरी छ ।”
वन मन्त्रालयका उपसचिव विष्णु आचार्यले बृहत् जलाधारमुखी संरक्षण कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको बताए । “अव्यवस्थित तरिकाले नदीका ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् भइरहेको छ, समयमै रोकिनुपर्छ,” उनले भने । योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकीले विकास र वातावरणको एजेन्डालाई सन्तुलित रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्