होटल संघद्वारा कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण «

होटल संघद्वारा कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण

होटल संघ नेपालले बुटिक एयरपोर्ट अभियानलाई सहयोगस्वरुप निर्मित कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण गरेको छ । संघका अध्यक्ष शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उक्त बगैंचा तथा चौतारी हस्तान्तरण गरे ।
विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल भित्रिने पर्यटकहरूको आकर्षणको प्रथम केन्द्र सहित मनमोहक बनाउने हेतुले सुरु ग्रिएको बुटिक एयरपोर्टकोे अभियानलाई सहयोग गर्न यो निर्माण गरिएको हानले जनाएको छ ।
निजी क्षेत्रको तर्फबाट स्वागत गर्दै मुख्य प्रवेशद्वारको दुवै तर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीहरूको निर्माण गरिएको संघका अध्यक्ष अमरमान शाक्यले बिहीबार आयोजित कार्यक्रममा बताए ।
होटल संघ नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच होटल संघ नेपालद्वारा विमानस्थल मुख्य प्रवेशद्वार क्षेत्रदेखि दुवै तर्फ अपरेशन भवन फाउन्टेनसम्म हरियाली तथा सौन्दर्यीकरण गराउने कार्य सम्पन्न भई सञ्चालनमा रहेको र राम्रो व्यवस्थापन पनि भइरहेको अध्यक्ष शाक्यको भनाइ छ ।
संघका महासचिव विनायक शाहले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्व सन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साहन गर्ने अभिप्रायले विमानस्थल प्रवेशद्वार दायाँ वायाँ खाली रहेको स्थानमा संघले कलात्मक चौतारी निर्माण गरेको जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक क्षेत्रीले होटल संघ नेपालको यस कार्य आफैंमा एक अनुकरणीय र उदाहरणीय रहेकोले धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्