अलैंची खेतीबाट विदेशमा भन्दा राम्रो आम्दानी «

अलैंची खेतीबाट विदेशमा भन्दा राम्रो आम्दानी

तेह्रथुमका अधिकांश युवा विदेशबाट फर्किएसँगै अलैंची खेतीमा लागेका छन् । विदेशमा गरिने श्रम गाउँमै खर्चने मनसायका साथ स्वदेश फर्किएका युवा अहिले अलैंची खेतीमा लागेका हुन् ।
पराईको मुलुकमा ज्यान जोखिममा राखी पिँजडाको सुगा झै रहनुको सट्टा आफ्नै परिवारका साथमा रम्दै युवाले अलैंची खेती थालेको फेदाप गाउँपालिका ओयाक्जुङका चन्द्र जोगीले बताए । “लाखौं रूपैयाँ ऋण काडेर दुबईमा २ वर्ष बिताए पनि साहुको ऋण मात्र तिर्न पुग्यो,” उनले भने, “थप रकम आर्जन गर्न नसकेपछि आफू अहले अलैंची खेतीमा लागेको छु ।” ४० वर्षीय जोगीले २६ हजार अलैंचीको बिरुवा १ लाख ५० हजार रूपैयाँमा ईलामबाट खरिद गरी खेती शुरु गरेका हुन् । उनले गतवर्ष १० मन अलैंची बिक्री गरेका थिए । “अलैंचीको उचित मूल्य नपाए पनि लगानी भने खेर गएन,” उनले भने, “म जस्तै युवाले गरेको खेतीबाट अहिले जिल्लामा लाखौं रूपैयाँ भित्रिँदै आएको छ ।”
गाउँमा खेर गइरहेका खोल्सा, भीरपाखा र ओसिलो जमिनमा कम लगानी र थोरै मेहनतमा लाखौं रूपैयाँ आम्दानी हुने भएपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । तेह्रथुममा अलैंची उत्पादन निकै राम्रो हुने गरेको छ । खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले युवाहरू व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका छन् ।
कालो सुन भनेर चिनिने अलैंचीको उत्पादन राम्रो र मूल्य पनि राम्रै हुने भएकाले युवाहरूको आकर्षण बढेको छथर गाउँपालिका–२ हमरजुङका अलैंची कृषक दिलबहादुर लिम्बुले बताए । करिब १ दशक विदेशमा विताएका लिम्बुले अहिले १५ रोपनीमा अलैंची खेती गर्दै आएका छन् । लालीगुराँस नगरपालिका दाङगपाका रमेश बस्नेतले आफ्नै गाउँ घरमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिने भएकाले सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।
जिल्लाका ६ वटै स्थानीय तहमा अलैंची खेती हुने गरेको छ । पछिल्ला दिनमा युवाहरू नै यो व्यवसायमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा अलैंचीका ६ वटा पकेट क्षेत्र र आठराई क्षेत्रमा एउटा ब्लक सञ्चालन भइरहेको जनाएको छ । तेह्रथुमको ७ सय २३ हेक्टरमा अलैंची खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्