कर्णाली प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच समझदारी «

कर्णाली प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच समझदारी

ग्लोबल आइएमई बैंक र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कर्णाली प्रदेश सरकारका तर्फबाट मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेको छन् ।
उक्त समझदारी अनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको ‘व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’ अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकका लागि व्याज अनुदान कार्यक्रम सञ्चालन र सोसम्बन्धी व्यवसाय विकासमार्फत कृषकहरुको रोजगारीमा वृद्धि गरी उनीहरुको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउने बताइएको छ । यस ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजिकरण गर्ने सहमति पत्रमा उल्लेख छ ।
बैंकले सरकारसँग समन्वय गरी यस्ता कार्यक्रमहरु ल्याएर ग्राहकहरुलाई लाभावान्वित गर्दै आएको दावी गरेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्