‘डा. केसीसँगको सम्झौता कार्यान्वयनमा अग्रसरता लिनुस्’ «

‘डा. केसीसँगको सम्झौता कार्यान्वयनमा अग्रसरता लिनुस्’

पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस सांसदसमेत रहेका थापाले यस्तो आग्रह गरेका हुन् ।
चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको थापाले बताए । “समिति सकियो, अब सरकारको कुरा हो । प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौताअनुसार विधेयक पारित हुनसक्छ,” थापाले भने, “सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिनहुन्छ भन्ने विश्वास छ ।”
डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा छन् । डा. केसी पटक–पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै थापाले केसी फकिर भएको बताए । “उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?” थापाको प्रश्न थियो । उनले डा. केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको बिल्ला भिराएकोमा असन्तुष्टि समेत जनाए ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा. केसीले सरकारमा को छ भनेर कहिल्यै नहेरेको थापाको भनाइ थियो । चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउने काम राजनीतिक दलको भएको पनि उनले बताए । देशलाई एउटा होइन, सयौं गाविन्द केसी चाहिएको बताउँदै थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, “डा. गोविन्द केसी हाम्रो गलत स्वार्थका विरुद्धमा उभिए, उभिइराखेका छन, भोलि पनि उभिइराख्छन् । त्यसैले हाम्रो स्वार्थका विरुद्धमा उभिने डा. गोविन्द केसीलाई नै ढाल्दिन चाहेको हो ? प्रधानमन्त्रीज्यू !”

प्रतिक्रिया दिनुहोस्