मृत्यु जित्दै पैदलयात्रामा बारेकोटवासी «

मृत्यु जित्दै पैदलयात्रामा बारेकोटवासी

जाजरकोट-पैदलयात्राका क्रममा लडेर मान्छेको मृत्यु हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, जाजरकोटको बारेकोट गाउँपालिकासम्म आवतजावत गर्दा अप्ठ्यारो बाटोका कारण लडेर मृत्युवरण गर्नुपर्ने बाध्यता छ । बारेकोट जोड्ने बाटो नहुँदा सो गाउँपालिका जान भीरपाखा प्रयोग गर्नुपर्ने बाध्यता छ । भीरमा गर्नुपर्ने जोखिमपूर्ण यात्राका क्रममा चार जनाले त ज्यानै गुमाइसकेका छन् ।
गाउँपालिका भएर बग्ने नलसिंहगाड (खोला) मा अस्थायी रूपमा हालिका लाप्का (काठे पुल) बाट खसेर समेत बटुवाको ज्यान जाने गरेको छ । नलगाड नगरपालिका कालिमाटीस्थित गेरेनीको भीरबाटोमा बटुवाको लडेर ज्यान जाने गरेको बारेकोट– ५ प्रेम शाहीले बताए ।
नलसिंहगाडमा हालिएका काठका लाप्काबाट नदीमा खसेर पनि बटुवाको ज्यान जाने गरेको शाहीको भनाइ छ । अप्ठ्यारो बाटोबाट लडेर र लाप्काबाट नदीमा खसेर चार जनाको मृत्यु भएको छ । नलसिंहगाडमा हालिएको लाप्काबाट नदीमा खसेर बारेकोट गाउँपालिका–९ का ४० वर्षीय कालीबहादुर नेपालीको मृत्यु भएको छ । त्यस्तै, बारेकोट–४ का मानबहादुर बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो ।
गेरेनीको भीरबाटोबाट बारेकोट जाने र बारेकोटबाट आउने क्रममा लडेर चार जनाको मृत्यु भएको छ । चार जनाको मृत्यु भइसक्दा पनि स्थानीय सरकारले वैकल्पिक घोरेटो बाटो बनाउन कुनै योजना नबनाएको भन्दै स्थानीय आक्रोशित छन् ।
बारेकोटबाट सदरमुकाम खलंगा आवतजावत गर्ने कालीमाटी गेरेनीको तीन किलोमिटर बाटोमा नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण जारी छ । पहुँच मार्ग निर्माणका क्रममा पुराना बाटो भत्किएका छन् । पहुँच मार्ग निर्माणको ढिलाइले बारेकोटवासीले सास्ती खेप्तै आएका छन् ।
पहुँचमार्ग निर्माणका क्रममा पुरानो भिरालो बाटो भत्किएर झन् जोखिमपूर्ण बनेको बारेकोट–८ जयबहादुर खत्रीले बताए । तीन वर्षदेखि पहुँच मार्ग निर्माणको काम पूरा हुन सकेको छैन । समयमा पहुँच माग निर्माण नहुँदा तीन किलोमिटर बाटो यात्रुले अप्ठ्यारो भीर र नदीमा हालिएका लाप्काबाट पार गर्नुपर्ने बाध्यता छ ।
बारेकोटका स्थानीयले दैनिक उपभोग्य वस्तुलगायत विभिन्न निर्माण सामग्री भीरकोेबाटोबाटै बारेकोट पु¥याउनुपर्ने बाध्यता छ । अप्ठ्यारो बाटो र ठूलो भारीका कारण लड्दा नदीमा खसेर बटुवाको ज्यान जाने गरेको बारेकोट गाउँपालिका पशुपन्छी शाखा प्रमुख गोविन्द सिंह बताउँछन् ।
सडक यातायातसँग नजोडिएको बारेकोट गाउँपालिकासम्म आवतजावत गर्न बालबालिका र वृद्धवृद्धाका लागि भने असम्भव छ । बाटो जोखिमपूर्ण रहेकाले बारेकोटका बिरामीलाई उपचारका लागि सदरमुकाम ल्याउनसमेत नसकिने अवस्था छ । नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिकाको लैखमसम्म पैदल बाटो हिँड्दा बटुवाले ज्यानको बाजी लगाउनुपर्ने अवस्था छ । पहुँचमार्ग निर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने वा पैदल बाटो मर्मत गरी सहज बनाउनुपर्ने बारेकोटवासीको माग छ ।
बाटो निर्माणमा कसैले चासो नदेखाएको बारेकोट– ५ का जनकबहादुर शाहीले गुनासो गरे । चाँडो पहुँच मार्ग निर्माण सक्न निर्माण कम्पनीलाई ताकेता गरी अल्पकालीन रूपमा वैकल्पिक घोरेटो बाटो खोल्नुपर्ने बारेकोटवासीको माग छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीको लापरबाहीका निर्धारित समयमा काम हुँन सकेको छैन ।

 

सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्