श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताए ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाका रूपमा आएकाले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताए । उनले २०७६-०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो । नेता पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर २०७५÷०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गरे ।
उनले भने, “अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि थियो भन्ने दृष्टिकोणले खण्डन गर्न सक्दैन भन्ने मलाइ लाग्छ, तर तथ्य एकातिर छ, निस्कर्ष अर्कोतिर प्रश्तुत गरिएको पनि सँगसँगै हामीले देख्न सक्छौँ, कोभिड महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर र नकारात्मक रूपमा असर पारेको याथार्थलाई बेवास्ता गर्दै २०७६÷०७७ मा २ प्रतिशतले आर्थिक वृद्धिदर ऋणत्मक भएको उल्लेख गरिएको छ, जबकी यो अवधिमा विश्व अर्थतन्त्र नै करिब ३.५ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको थियो, कोभिड अवधिको तथ्यांकको सहरा लिएर २०७५÷०७६ मा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको यथार्थलाई भने छोप्न खोजिएको छ । ”
उनले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानुनी व्यवस्था गरेको बताउँदै राजस्वले चालू खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ठ अवस्थामा देश रहेको बताउनुभयो । उहाँले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताए ।
उनले भने, “सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानुनी व्यवस्था गरेका छौँ, राजस्वले चालु खर्च धान्ने हो र विकासका लागि ऋण लिनुपर्ने विशिष्ठ अवस्थामा हामी छौँ, हाम्रो अर्थतन्त्रलाई त्यो ठाउँबाट अगाडि बढाउनु पर्ने जिम्मेवारी हाम्रो सामु छ, त्यसैले यस अवस्थामा ऋण नलिने र विकास रोक्ने होइन, ऋण लिने र पूर्वाधार विकासमा सदुपयोग गर्ने नीति लिनुपर्छ ।”
उनले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भएपनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभाष भएको बताए । तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको भन्दै उनले अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रश्तुत गर्न चुनौति दिए ।
उनले भने, “अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भए पनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा बिरोधाभाष छ, तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको देखाएको छ, तथ्यले जे निष्कर्ष प्रश्तुत गर्छन् त्यो निष्कर्षलाई स्वीकारेर अगाडि बढ्नु सबैको जिम्मेवारी हो, विशेष गरी सरकारको त अझै महत्वपूर्ण जिम्मेवारी हो, आर्थिक अवस्थाको जानकारी पत्रले अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको खारेज गर्ने र प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताएको छ, ठिक छ त, ल्याउनुस् अर्को बजेट, त्यसका लागि अघिल्लो सरकारलाई दोषारोपण गर्नैपर्ने हुन्छ र ? प्रतिस्थापन विधेयक ल्याउनु थियो भने आर्थिक वर्ष २०७८-०७९ को आय र व्यको अनुमान अध्यादेश प्रतिनिधि सभा मार्फत् प्रश्तुत गरेको किन, सदनको समय बर्बाद गरेको किन ।”
उनले अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्योभन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौती दिए ।