कृषि फार्म सञ्चालन गरेर वार्षिक लाखौं आम्दानी «

कृषि फार्म सञ्चालन गरेर वार्षिक लाखौं आम्दानी

पर्वत-भनिन्छ महिलाहरू आफै केही गर्न सक्दैनन् । उनीहरूका हरेक काममा पुरुषहरूको साथ चाहिन्छ ।
तर यहाँका दुई दिदीबहिनी कसैको साथ विना गाउँमा नमुना कृषक बनेर उदाहरण देखाएका छन् । पर्वतको जलजला गाउँपालिका–९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा ल्याएका छन् । दुवै जनाका श्रीमान् अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । महिलाहरूले गएको असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा बनौं कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर प्रसस्त आम्दानी गर्न थालेका छन् ।
दुई दिदीबहिनीले २५ लाख रुपैयाँ लगानी गरेर कुखुरा फार्म, बंगुरपालन फार्म र तरकारी खेती गर्दै आएका हुन् । यामकुमारीका श्रीमान् मनबहादुर गर्बुजा र मनकुमारीका श्रीमान् रुद्रबहादुर पुर्जा रोजगारीका लागि कतार गएका छन् । कृषि फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उनीहरूको योजना छ । अहिले कृषि फार्ममा एक हजार कुखुरा, झण्डै एक दर्जन बंगुर छन् भने तीन वटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बनौंमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काक्रो, घिरौला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्य रहेको यो गाउँमा यस्ता खालका अन्य फार्महरू छैनन् । एकमात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले बताइन् । उनका अनुसार गत असोजदेखि सुरु गरिएको फार्मबाट अहिले कुखुरा, बंगुर र तरकारीबाट आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिक रूपमा सोचे अनुरुप आम्दानी हुने गरेको छ ।
श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरूले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको सञ्चालिका मनकुमारीले बताइन् । दुवैजना दिदीबहिनी फार्ममै बस्छन् । बिहान सबेरै उठ्ने एकजनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बंगुरलाई दानापानी दिने र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरूले फार्ममै कुटानी पिसानी मेसिनसमेत राखेका छन् । अन्नबाली कुटानी पिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले बताइन् । उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन उनले भनिन्, “माग पु-याउन धौ धौ भएको छ ।” उनले यस वर्ष झण्डै पाँच लाख आम्दानी हुने अनुमान गरिएको बताइन् ।
ठूलो धनराशी लगानी गरेर फार्म सुरुवात गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरूको गुनासो छ । दर्ता गरेर कानुनी रूपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् । वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरूको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको बताए । खोर निर्माण, प्लास्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनको भनाइ छ । सामान्य घरायसी काममा दिन बिताउँदै आएका यामकुमारी र मनकुमारी कृषि फार्मबाट प्रसस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । “गर्नसके कुनै जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रसस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ,” उनीहरू भन्छन् ।
उनीहरूले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमान फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना छ । अब श्रीमानलगायत कोही पनि युवायुवतीलाई विदेश नजान सल्लाह दिने उनीहरूले बताए । कृषि फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरूको योजना छ ।
दिदीबहिनी मिलेर संचालन गरेको यो फार्म जिल्लाकै नमुना रहेको वडाध्यक्ष गौबहादुर पुर्जाले बताए ।

प्रतिक्रिया दिनुहोस्