वर्षदिनपछि छानाभित्र लिदीका विस्थापित «

वर्षदिनपछि छानाभित्र लिदीका विस्थापित

सिन्धुपाल्चोक-बर्खामा माथि भीरबाट बगेर आएको पानी टेण्टभित्र छिर्ने, हिउँदमा सम्मुख जुगल हिमालको सिरेटोले मुटु कपाउँने । त्यतिमात्रै नभई वर्षको एक सिजन हिउँ पर्ने भएकाले उनी हिउँकै डस्ना र सिरानीमा रात गुजार्न बाध्य हुन्थिन् ।
जुगल गाउँपालिका–१ लिदीमा गएको वर्ष आएको लामो पहिरोले विस्थापित भएकी सरु दोङ (१९) वर्ष दिनसम्म सानो टेण्टमा परिवारसँगै खुम्चिएर बस्न बाध्य भइन् । महिला भएकै कारण एउटै टेण्टमा परिवारसँग दैनिकी गुजार्न उनलाई निकै सकस भयो । र, पनि आफ्नो पीडा उनले कसैलाई भनिनन् ।
३९ जनाको ज्यान जानेगरी गएको लिदी पहिरोबाट बचेका विस्थापितहरू बाँसखर्कको सामुदायिक वनमा आएर सुरक्षित स्थान खोज्दै बसे । त्यतिबेला एउटा लहर चल्यो, घर बनाइदिने आश्वासनको । भोलि भोलि न्यानो घरमा रात बिताउन पाउने सपना संगाल्दै विस्थापितहरू साँझ उही हिउँ अनि पानीको लेदोको सिरानीमा सुखका सपना देख्थे अनि त्यो सपना बिहानै बिलाउँथ्यो, अनि लाग्थ्यो कि आज फेरि उही दैनिकीका साथ दिन र रात गुजार्नुपर्दछ ।
सभामुख अग्निप्रसाद सापकोटासहित अन्य मन्त्री, साँसद, अनि अन्य नेतामात्रै नभई पटक पटक फेरिरहने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि त्यहाँ पुगे । तर, समस्या ज्यूँका त्यूँ रह्यो । भन्दथे, कि हामी घर बनाइदिनेछौं । ती आश्वासन केवल आश्वासनमै सीमित भयो ।
दिन, हप्ता, महिना हुँदै वर्ष यस्तो दुःख झेलेको । सरु जस्तै १७८ घरधुरीले सपना पाएको ।
पीडा गुज्रँदै गरेको वर्ष दिन पुग्नै लाग्दा विस्थापितका लागि केही संघ संस्था र नेपाली सेना त्यतिबेला निस्किए जतिबेला विस्थापितका लागि घर बनाउने काम सुरु भयो । कहिले चर्काे घाम त कहिले बर्खा अनि कहिले सिरेटो भोगेका लिदीवासीलाई त्यतिबेला नेपाली सेना साँच्चै देवताजस्तै लाग्यो ।
हो, अहिले पहिलो चरणमा ३१ घर बने । अनि पीडा भुल्दै केही विस्थापित अस्थायी छानामुनि खुसी साथ छिर्न पाए । जस्ताको मात्रै टहरा भए पनि समस्या झेलिरहेका सुत्केरी, बालबालिका, वृद्धवृद्धालाई केही सहज भएको छ । पहिरोमा आमा र दाजु गुमाएकी पीडित सरु दोङले टेण्टमा बस्दा निकै समस्या भएको सुनाइन् । “टेण्ट उडाउला भन्ने चिन्ताले पिरोल्थ्यो,” उनले भनिन्, “टेण्टमा पानी चुहिएर हैरान भएका थियौं, अब त्यसको समाधान भयो ।” उनले कुनै पनि समय हिउँ पर्न सक्ने भएकाले हिउँलाई सिरानी राखेर सुत्नुपर्ने समस्या सुल्झिएको सुनाएन् ।
एक वर्षपछि अस्थायी भए पनि आवाश पाएकोमा पहिरो प्रभावितहरू खुसी भए । “पालको बसाइ निकै कष्टकर थियो,” पासाङ लामाले भने, “हिँउदमा हिउँको सिरेटो र बर्खामा पानीले भेलले निकै सताउँथ्यो ।” उनले अहिले जस्ताको घरमा बस्न पाएपछि केही राहत भएको सुनाए ।
३९ जनाको ज्यान जाने गरी गएको जुगल गाउँपालिका गोल्चेस्थित लिदीबाट विस्थापित भई बाँसखर्कमा बसोबास गरेका विस्थापितले बल्ल घर पाएका हुन् । अस्थायी आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहल गरेको थियो । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरधुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्णक्षति भएको थियो । पहिरो गएदेखि प्रभावितहरूको टेण्ट र पालमा जीवन गुजार्न बाध्य थिए ।
बस्ती बसाल्ने भन्दै सभामुख अग्नीप्रसाद सापकोटा पटक पटक विस्थापित शिविर पुगेका थिए । सापकोटासँगै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि बाँसखर्क पुगेका थिए । विस्थापित शिविरमा पुगेर पटक पटक सापकोटाले नमुना मोडल बस्ती बसाउने भनेर सपना बाँडेको स्थानीय भीम तामाङ सुनाउँछन् । पछिल्लो पटक शिविरमा पुगेका सापकोटालाई पीडितहरुले आश्वासन मात्रै बाँड्न तपाईंहरू यो शिविरमा नआउँदा हुनेसमेत भनेका थिए ।
विभिन्न निकायले घर बनाइदिने आश्वासन दिए पनि विस्थापितलाई नेपाली सेनाले अस्थायी आवास निर्माण गरिदिएको हो । ५१ सेनासहित प्राविधिक आवास निर्माणमा खटेका थिए । उनीहरू गोरखबक्स गण र कालीसिद्धि गणमा कार्यरत सेना हुन् । आवास निर्माणका लागि आवश्यक सामग्री विभिन्न संघ, संस्थाले उपलब्ध गराएको हो ।
७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ वटा आवास भवन, सातवटा शौचालय, एउटा हेल्थ पोस्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडाध्यक्ष प्रताप लामाले बताए । प्रतिघर दुई लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
उच्च तहबाट विभिन्न आश्वासन पाए पनि बेवास्तामा परेका विस्थापितका लागि संघसंस्था र व्यक्ति जुट्न थालेपछि आवास निर्माण सुरु भएको हो । आवास निर्माणका लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले एक लाख २३ हजार ४८८ रुपैयाँको ९०८ किलो फलाम र तीन लाख ७१ हजार ६१३ रुपैयाँको २५ बण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सीएरआरसी-केयर नेपालले २२ हजार आठ सय रुपैयाँको ३० बोरा सिमेन्ट, सात लाख ६३ हजार ९६० रुपैयाँको ६७ बण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले सात लाख चार हजार ८२८ रुपैयाँको ५५ बण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग पाएको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।
आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणका लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवं व्यक्तिबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो ।
स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासका लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । “लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया सुरु भइसकेको छ,” जुगल गाउँपालिका–२ का वडाध्यक्ष प्रताप लामाले भने ।

प्रतिक्रिया दिनुहोस्