हेरिटेज ट्रेल रेसको उपाधि नरेश र राममायालाई «

हेरिटेज ट्रेल रेसको उपाधि नरेश र राममायालाई

प्रथम कर्णाली हेरिटेज ट्रेल रेसको उपाधि पुरुषतर्फ कर्णाली स्पोर्टस् क्लब जुम्लाका नरेश बुढा र महिलातर्फ राममाया बुढाले प्राप्त गर्न सफल भएका छन् । १२ किलोमिटरको रेस १ घण्टा १२ मिनेट ३० सेकेन्डमा नरेशले पार गरे भने राममायाले १ घण्टा ३६ मिनेट १५ सेकेन्डमा पार गरिन् ।
पुरुषतर्फ उत्तर पश्चिम पृतना गुल्मका राजन रोकायाले १ घण्टा १३ मिनेट ४७ सेकेन्डमा १२ किलोमिटर दूरी पार गरी दोस्रो स्थान हासिल गरे भने महिलातर्फ कर्णाली स्पोर्टस् क्लबकी बन्दना बुढाले १ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा उक्त दूरी पार गरिन् ।
त्यसैगरी कर्णाली स्पोर्टस् क्लबका प्रकाश कठायतले १ घण्टा १७ मिनेट ४२ सेकेन्डमा र पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ४० मिनेट १५ सेकेन्डमा १२ किलोमिटर दूरी पार गरी तेस्रो स्थानमा आए ।
कर्णाली प्रथम हेरिटेज टे«ल रेस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार नगद तथा मेडल पुरस्कारस्वरुप प्रदान गरिएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन ओलम्पिक खेलाडी वैकुण्ठ मानन्धरले गरेका थिए भने खेलाडीलाई टे«ल रेसको नक्सांकन बारेमा जानकारी धावक हरिबहादुर रोकायाले गरेका थिए । कर्णाली स्पोर्ट्स् क्लबले ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ आयोजना गरेका हो ।
जेआर केविएस हेरिटेज ट्रेस रेस २०१८ को प्रतियोगितामा विभिन्न जिल्लाका १ सय २ जना पुरुष र १३ जना महिला खेलाडी गरी १ सय ३५ जनाले भाग लिएका थिए ।
ट्रेल रेसमा भाग लिने खेलाडीहरुले जेआर कर्णाली बोर्डिङ स्कुलबाट दौड सुरु गरेर बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडा माथिको भगवती मन्दिर, भण्डारीवाडा, २४ नं. बाहिनी अड्डा, खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर फेरि चन्दननाथ मन्दिरमा आइपुगेका थिए ।
प्रथम कर्णाली हेरिटेज टे«ल रेस प्रतियोगिताका लागि जेआर कर्णाली बोर्डिङ स्कूलले ८५ हजार, जिल्ला खेलकुद विकास समितिले २० हजार, चन्दननाथ नगरपालिकाले २० हजार, योङ विपि डव्लुले १५ हजार र न्यू मनकामना ढुवानी सेवाले १५ हजार रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्