Logo

नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपीडी हुने

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् ।
नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपीडी सेवा दिने भएका हुन् ।
सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपीडी सेवामा सहभागिता जनाई लाभ लिनसक्नेछन् ।
यस्तै, डा. अभिलाषा शाहसँग बाथरोगको समस्या भएकाहरूले लाभ लिन सक्नेछन् । डा. शाहले हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, आरामको समयमा ढाड तथा जोर्नी बढी दुख्ने, मांसपेशी दुख्ने, गल्ने, थकाई बढी लाग्ने, बारम्बार गर्भधारणमा समस्या आउने, घाममा अनुहार बढी रातो हुने वा पोल्ने, कपाल बढी झर्ने, मुखभित्र बारम्बार घाउ आउने, चिसोमा औंलाहरू निलो, सेतो हुने, शरीरमा बारम्बार घाउ तथा डाबर आइराख्ने, खुट्टाको बुढीऔंला वरिपरि रातो भएर दुख्ने, कुर्कुच्चा पोल्ने तथा दुख्ने, मांशपेशी कमजोर हुने, लामो समयसम्म ज्वरो आउने, खकारमा रातो रगत देखापर्ने, आँखा बारम्बार रातो हुने, हातखुट्टा झमझमाउने र पोल्ने र भ¥याङ चढ्दा घुँडा दुख्ने जस्ता समस्या भएकाले आफ्नो ओपीडीमा आएर लाभ लिनसक्ने बताइन् ।
नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा आउने शनिवार डा. द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरूलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।
निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरूको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।
नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग–अलग विशेषज्ञहरूलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्