नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच समझदारी «

नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच समझदारी

 नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उप–महानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरित समझदारी पत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई–देशको हितमा हुने गरी प्रवद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदान–प्रदानका विषय समेटिएका छन् । ‘ट्रेड मिसन’ लाई प्रभावकारी रूपमा अगाडि बढाउन दुई–पक्षीय व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरू पनि उक्त समझदारी पत्रमा समेटिएको छ ।
चारवटा प्रमुख धाराहरू रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रबद्र्धन गर्ने कुरा उल्लेख छ । त्यसैगरी दोस्रो धारा सुचनाको आदान–प्रदान, तेस्रो ‘ट्रेड मिसन’ र चौथो धारा व्यापार प्रवद्र्धनका लागि आयोजना गरिने क्रियाकलापहरूसँग सम्बन्धित छन् ।
नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार र बहु–पक्षीय सम्बन्धलाई विस्तार गर्ने उद्देश्य अनुरूप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्