Logo

मेलम्चीको तल्लोे तटीय क्षेत्रमा जोखिम भए बस्ती सारिने


मेलम्चीमा आएको बाढीका कारण नदीको आयतन बढेसँगै तल्लो तटीय क्षेत्रमा पर्ने असरको विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । अध्ययनले तल्लो तटीय क्षेत्रमा जोखिम देखिएमा बस्ती स्थानान्तरण गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार नै उठिबास बनाएको थियो । मेलम्चीमा फेरि पनि बाढी आउन सक्ने र सम्भावित जोखिमको अवस्था पत्ता लगाउन र बाढीको विपद्जन्य जोखिमबाट मेलम्ची नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा कस्तो किसिमको असर पुग्ने भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणको भनाइ छ ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले तल्लो तटीय क्षेत्रमा असर परेमा बस्ती सुरक्षित क्षेत्रमा सारिने बताए । “मेलम्चीमा अब बाढीको सम्भावित जोखिम, त्यसले तल्लो तटीय क्षेत्रमा पार्ने असरको विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ,” उनले भने, “यदि अध्ययनले तल्लो तटीय क्षेत्रमा कुनै असर पर्ने देखाएमा सुरक्षित स्थानमा बस्ती सार्नुपर्ने हुनसक्छ, कति सुरक्षित छन् ? कहाँ स्थानान्तरण गरिने भन्ने आंकलन पछि गरिने छ ।”

खाद्यान्न अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई खाद्यान्न अभाव हुन नदिन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौं बैठक मार्फत यस्तो निर्देशन दिएका हुन् ।
उनले सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी पहिरोले बगाएका पुलहरूका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् । यस्ता पुल सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्