१५ किमि हिँडेर विद्यालय «

१५ किमि हिँडेर विद्यालय

धनगढी-कैलालीको, गोदावरी, निगाली र खैरालाका बासिन्दाले झण्डै १ वर्ष अगाडि प्रस्ताव गरेको त्रिवेणी गाउँका विद्यार्थी झण्डै १५ किलोमिटर पैदल यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् ।
कैलालीको चुरे गाउँपालिकाको निगाली–१ र चुरे गाउँपालिका खैरालाको वडा नं. २ र ४ मिलाएर १ वर्ष पहिले स्थानीय बासिन्दाले आफैं घोषणा गरेको माध्यमिक तहको विद्यालय स्थापना भएपछि यहाँका विद्यार्थीलाई छिमेकी श्रीपुर गोदावरी नगरपालिकामा रहेको विद्यालयमा पुग्नुपर्ने अवस्था छ ।
विद्यालय पुग्न जंगलै–जंगलको बाटो आधा दिन पैदल हिँड्न बाध्यता भएकाले विद्यालय जाँदा बलात्कृत भइने डरले कैलालीको पहाडी भेगका अधिकांश छात्राको पढाइ निम्न माध्यमिक तहमै टुागिने गरेको छ । भौगलिक हिसाबले पहाडी खोला खोल्साँसँगै जंगलको बाटो र टाढाको विद्यालय दिनहुँ ओहोरदोहोर गर्न नसकेपछि कैयौं विद्यार्थीले निम्न माध्यमिक तहभन्दा माथि पढ्न नसकेको स्थानीय रामबहादुर बुढाले बताए ।
पढ्न नसकेपछि यहाँका युवा विदेशिएका छन् भने युवतीले सानै उमेरमा विवाह गर्ने गरेका छन् । खेतीपाती र पशुपालन व्यवसायको भरमा जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दाले छोराछोरीलाई डेरामा राखेर पढाउन सक्ने अवस्था छैन । सीमित व्यक्तिले मात्र छोराछोरीलाई सदरमुकाम धनगढी र अत्तरियामा डेरामा राखेर पढाउने गरेका छन् ।
स्थानीय बासिन्दा बुढाले भने, “अधिकांश बालबालिकाले चाहेर पनि पढ्न पाएका छैनन् । प्रस्तावित त्रिवेणीका बासिन्दाले माध्यमिक तहको विद्यालयका लागि त्यतिबेला दुईपटक जिल्ला शिक्षा कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएका थिए ।” तर अहिलेसम्म माध्यमिक तहको विद्यालय सञ्चालनका लागि कहीं कतैबाट सहयोग नपाएको स्थानीय बासिन्दा बुढा बताउँछन् । स्रोत अभावमा माध्यमिक तहसम्मको विद्यालय सञ्चालन गर्न नसकिएको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्काले बताए ।
चुरे गाउँपालिकामा पाँच निमावि र ६ प्रावि सञ्चालनमा छन् । ती सबै विद्यालय शिक्षा विकास तथा समन्वय इकाई, कैलालीबाट पनि स्वीकृत पाएका छैनन् । अधिकांश विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेका छन् । केही प्रावि तहका विद्यालयमा मात्रै शिक्षा विकास तथा समन्वय इकाई कैलालीले दरबन्दी दिएको छ ।
चुरे गाउँपालिकाको निगाली वडा नं. १ मा रहेको भगवती निमाविका प्रधानध्यापक तेजबहादुर चन्दले भौगोलिक बनावटका कारण कैयौं बालबालिका शिक्षाबाट वञ्चित भएको स्वीकारे ।

शिक्षाबिना समृद्ध नेपाल असम्भव : मन्त्री पोखरेल
रामेछाप-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको विकासबिना समृद्ध नेपालको परिकल्पना सम्भव नहुने बताएका छन् । भवन राम्रा र ठूला हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने उनको भनाइ थियो ।
‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित २१औं भूकम्प सुरक्षा दिवसको अवसरमा रामेछापको दोरम्बा गाउँपालिमामा नवनिर्मित भवन उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने र अरुका बालबालिका सरकारी विद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने बताए । मन्त्री पोखरेलले श्री कालिका माध्यमिक विद्यालय लखनपुर रिष्ठेको १२ वटा कक्षा कोठा भएको ३ तले २ वटा भवन र लखनपुरकै थापा गाउँमा नवनिर्मित २ तले र १ तले ६ कोठे भवनको समेत उद्घाटन गरेका थिए । रिष्ठेमा निर्माण गरिएको भवनको कुल लागत ८ करोड ४२ लाख ४२ हजार र थापा गाउँमा निर्माण गरिएको भवनको ६ करोड ५५ लाख ४१ हजार ९ सय ४४ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्तकुमार बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्