छिन्चु–जाजरकोट सडकको अवस्था नाजुक «

छिन्चु–जाजरकोट सडकको अवस्था नाजुक

जाजरकोट-छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–११ स्थित पासागाड खोला नजिकैको कालोपत्रे सडकमा ठूला दुई खाल्डा परेको दुई वर्ष पुग्न लाग्यो ।
सोही खाल्डाका कारण मोटरसाइकल तथा ठूला यात्रुवाहक गाडीलाई ती खाल्डा पार गर्न निकै सकस पर्ने गरेको छ । जाजरकोट सदरमुकाम प्रवेशको मुख्य सडकद्वार रहेको उक्त सडकमा कालोपत्रे उप्किएर भैसी बस्न मिल्ने पानीको ताल बनेको छ । सो सडकमा साना ठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुइ वर्ष पुग्न लागे पनि चौरजहारीमा रहेको सडक डिभिजन कार्यालय र जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैं गरेका छन् । जिल्ला सदरमुकाममा प्रवेश गर्ने सडकको बेहाल हुँदा पनि त्यही बाटोमा हिँड्न स्थानीय तह, प्रदेश तह र संघीय संसदका प्रतिनिधि र सडक विभागका कर्मचारीको बेवास्ताका कारण ठाउँ ठाउँमा सडकका खाल्डा बढ्दै गएका छन् ।
मटेलादेखि बोहराको उकालो हुँदै शान्तिचौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले गाडीको यात्रा जोखिमपूर्ण बनाएको छ । खाल्डाखुल्डीले सडक बिग्रँदै गएको भए पनि सरोकारवालाको बेवास्ता भएपछि स्थानीय आक्रोसित बनेका छन् । यही सडक भएर जिल्लाका साँसद, कर्मचारी, सडक विभागका इन्जिनियर पटकपटक यात्रा गरिरहन्छन् तर ती खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म वास्ता गर्दैनन् स्थानीय खगेन्द्र सिंहले भने । पासागाडको छेउमा मात्र होइन उक्त सडक खण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलंगासम्मको कालोपत्रे गरिएको सडकमा साना ठूला गरी सयौं खाल्डा भए पनि कसैले नदेख्ने गरेको उनले बताए । सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयसम्म जस्ताको तस्तै भए पनि सरोकारवालाले वास्ता नगर्दा गाडीको यात्रा असहजमात्र होइन जोखिमपूर्ण बनेको यातायात व्यावसायी कालीबहादुर खत्रीले बताए ।
सधै नेता र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन् होला ? उनले प्रतिप्रश्न गर्दै भने । कालोपत्रे गरेको सडकमा बनेका दर्जनौं खाल्डाखुल्डी र कालोपत्रे भत्किएर निस्किएको धुलोका कारण यात्रुलाई सकस पनि हुने गरेको छ । नजिकै सडक डिभिजन कार्यालय छ तर सडकको हालत बिग्रेको बिग्रयै छ उनले भने । सदरमुकाम प्रवेश गर्ने कालोपत्रे सडकको अवस्था देख्दा साँसद मन्त्री र सडक विभागका कर्मचारीले लाज मान्नुपर्ने हो तर केही वास्ता गर्दैनन्, अर्का स्थानीय जितेन्द्र नेपालीले भने । हामीले यो सडकमा खाल्डा परेको देख्न थालेको नै दुइ वर्ष पुग्न लाग्यो तर सडक मर्मत तथा सुधारका लागि केही भएको देखिँदैन उनले भने ।
छिन्चु–जाजरकोट सडक खण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यान जिल्लाको १ सय २ किलोमिटरको लम्बाइ रहेको उक्त सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न समस्या देखिएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरूले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएको वर्षातको पहिरोले गाडीको यात्रा जोखिमपूर्ण बनाएको व्यवसायीको भनाइ छ ।
दुःख जनता र यातायात व्यवसायीलाई छ देखुन् पनि कसरी ? अर्का व्यवसायी डम्बर केसीले भने । उनले जनताले कति दुःख पाएका छन् त्यो नेताले र राष्ट्र सेवकले गतिलो अनुभूति नगर्दा वर्षाैैसम्म सडकको बेहाल बनेको बताए । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको खाल्डाखुल्डी परेको बारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताए । उनले नगरपालिकाको तर्फबाट अग्रसरता लिएर आफनो नगरपालिका क्षेत्रभित्रको कालोपत्रे सडक र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने बताए ।
स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले चासो र पहल नलिएको गुनासो गरेका छन् ।
सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्