तत्काल प्रदेश प्रमुख तोक्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरेका छन् ।
विराटनगरमा सोमबार आयोजित क्षेत्रीय निर्वाचन कार्यालयको भवन उद्घाटन कार्यक्रममा यादवले तत्कालै प्रदेश प्रमुख तोक्न आग्रह गरेका हुन् । राष्ट्रियसभाको निर्वाचनका लागि माघ ७ गतेभित्रमा नामावली प्रकाशित गर्नुपर्ने बाताउँदै उनले प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखको नामावली हस्तान्तरण गर्नका लागि पनि प्रदेश प्रमुख तोक्न जरुरी रहेको उल्लेख गरे । “सरकारले अब पनि प्रदेश प्रमुख तोक्न विलम्ब गर्नुहुँदैन,” उनले थपे, “प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगलाई काम गर्न निकै गाह्रो भइरहेको छ ।”
निर्वाचन आयोगले माघ २४ गते जसरी भए पनि राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिंदै यादवले निर्वाचनमण्डलको वैधानिकता प्राप्त गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । दल र सरकारले ढिलो गरेको आरोप लगाउँदै उनले ७ गतेसम्ममा सरकारले प्रदेश प्रमुख नतोके पनि आयोगले २४ गते जसरी पनि राष्ट्रियसभाको निर्वाचन गर्ने बताए । “७ गतेभित्र सरकारले प्रदेश प्रमुख नतोके पनि माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्छ ।” निर्वाचन आयोगले समानुपातिक मत परिणाम घोषणा गर्न ढिलो गरेको आलोचना भइरहेका बेला आयुक्त यादवले आयोगले कसैको पक्षमा नलागेको प्रस्ट पारे ।
निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताउँदै प्रमुख आयुक्त यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगलाई बलियो बनाउन आवश्यक रहेको बताए । विराटनगरमा १ करोड ४४ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ लागतमा आयोगको क्षेत्रीय कार्यालय निर्माण गरिएको हो ।