Logo

संसदमा अपांगता भएका व्यक्तिहरूलाई अपमान गरेको भन्दै ध्यानाकर्षण

राष्ट्रियसभाका सांसद प्रकाश पन्थले संसदमा अपांगता भएका व्यक्तिहरूलाई अपमान हुने गरी शब्दहरू प्रयोग हुने गरेको भन्दै संसदको ध्यानाकर्षण गराए ।
बुुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद पन्थले संसदको दुवै सदनमा अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानमा ठेस पुग्नेगरी कतिपय शब्दहरू प्रयोग हुने भन्दै यसतर्फ सबै सांसदहरूको ध्यानाकर्षण गराए । यस्ता शब्द प्रयोग गर्दा ध्यान दिनुपर्ने र आवश्यक परे संसदमा रेकर्ड भएका शब्द हटाउनसमेत सभामुख र अध्यक्षले रुलिङ गर्नुपर्ने उनले बताए । उनले भने, ‘सबैको ध्यानाकर्षण पनि गराउन चाहान्छुकी, सरकार, कुनै व्यक्ति वा संस्था जोसुकै पनि त्यसको असफलता हुन्छ । त्यो असफलता र त्यसको कमीकमजोरीहरूलाई, नराम्रो कुराहरूलाई दाँजेर तुलना गरेर अपांगता शब्दको दुरुपयोग गरेर विगतदेखि अहिलेसम्म पनि यसको दुरुपयोग भइरहेको छ ।
संसदजस्तो गरिमामय र सभ्य उच्च सम्मानित स्थानमा समेत यसको व्यापक दुरुपयोग भएकै छ । अब यस्ता असभ्य शब्दावलीहरू आगामी दिनमा जो कसैले गर्नुभएन । त्यसतर्फ हामी सबै सचेत हुन पनि आवश्यक छ । गरिमामय संसदबाट त्यस्ता शब्दहरू प्रयोग भएमा हटाउनुपर्ने स्थिति पनि आउन सक्छ । प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूले यसतर्फ पनि आवश्यक रुलिङहरू पनि गर्नुपर्ने स्थितिहरू आउन सक्छ ।’
सांसद पन्थले सांसदले बोलेका शब्दहरूले विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्गका व्यक्तिहरूको भावनामा समेत ठेस पुगिरहेको हुनसक्ने भएकाले त्यसतर्फ सचेत गराए । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपांगतासम्बन्धी अधिकार ऐनमा समेत अधिकारहरूको स्पष्ट उल्लेख गरिएकाले अध्ययन गर्न पनि उहाँले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्