Logo

अर्घाखाँचीमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची जिल्ला अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलबार बेलुकाबाट सञ्चालनमा आएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए ।
अक्सिजन उत्पादन सुरु भएसँगै कोरोना संक्रमितको उपचारमा केही सहज भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले २४ घण्टामा ७० ओटा ठूला सिलिण्डर भर्ने डा. गौतमले जानकारी दिए ।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई १ करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि इन्टरनेसनलले प्रतिस्पर्धामार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो ।
गत वैशाख–जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।
हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो ।
विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्